गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिङ्गी (एलजीबीटीक्यूए)हरूको अस्तित्वको खोज र जीवन सङ्घर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिङ्गीहरूले भोग्नुपरेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ ।
नेपथ्यले सिड्नीमा साङ्गीतिक प्रस्तुति दिएको छ । शुक्रबार सिड्नीस्थित ‘होडर्न प्याभेलियन’मा साङ्गीतिक प्रस्तुति दिएको हो । कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शक सहभागी रहेको नेपथ्यले जनाएको छ । सिड्नीमा छैटौँ पटक सफलताका साथ नेपथ्यले कन्सर्ट सम्पन्न गरेको छ ।
विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको नयाँ र आधुनिक टर्मिनल भवन बन्ने भएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने गरी भवनको ठेक्का लागेपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गर्नुभयो ।
तानसेन नगरपालिकाले साझेदारी कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको १५ औँ बैठकले निर्णय गर्दै हेफर इन्टरनेशन नेपाल लगायतका अन्य सङ्घ संस्थासँग गरिएका साझेदारी कार्यक्रमहरू रद्द गर्ने जनाएको हो ।
मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आउनुभएको छ । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष छलफल गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गर्नुभएको हो। चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उहाँले यस्तो आमन्त्रण गर्नुभएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिनुभएको छ।
रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २९औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले देशभरका ठूला तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
धनुषास्थित सबैला नगरपालिकाका मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका छन्। मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन्। यसलाई बोलीचालीको भाषामा अपटनी पूजा पनि भन्ने गरिन्छ।
सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गर्ने भएको छ ।
दाइजो अन्त्य होला भन्ने आस मरिसक्यो। १० लाखभन्दा कममा विवाह हुँदैन। साहु महाजनसँग मिटरब्याजमा कर्जा लिएर चुक्ता गर्न सकिँदैन। छोरीको विवाहका लागि दाइजो कहाँबाट जुटाउने निकै सकस भएको छ। विवाहमा दाइजो दिन सरकारले सहुलियत दरमा ऋण दिनुपर्ने माग गर्न थालिएको छ।
दुई किस्ता पाइसक्नुपर्ने बेलासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएपछि सप्तरीका गरिब दलित परिवारलाई छाक टार्न गाह्रो भएको छ। नवीकरणको बहानामा दलित नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। सामाजिक सुरक्षा भत्ताको भरमा जीवन गुजारिरहेका राजविराज नगरपालिका–९, १० का मुसहर बस्तीका वृद्ध, अपाङ्गता भएका, एकल महिलालाई बाँच्नै गाह्रो भएको हो।
चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म कुल दुई खर्ब १० अर्ब ४५ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल एक लाख ४८ हजार ३४२ ऋणीलाई यस्तो रकम उपलब्ध गराइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताउनुभएको छ। दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको छ।