• २१ असोज २०८१, सोमबार

सवारी आयात घट्दा राजस्व प्रभावित

blog

भैरहवा समाचारदाता

भैरहवा, फागुन २ गते । रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।

बजारमा सवारीसाधनको माग घटेको र विगतमा आयातमा लगाइएको प्रतिबन्धजस्ता कारण र अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण अटो आयात घटेको आकलन कार्यालयको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको छ । सरकारले यसअघि जिप, कार र भ्यानलगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यी वस्तु आयात निकै कम भएको छ । 

भन्सार प्रमुख मनिराम पौडेलका अनुसार अनिवार्य मार्जिन राख्नु पर्ने व्यवस्थाका कारण कार, जिप, भ्यानलगायतको राजस्व सङ्कलनमा गिरावट आएको छ । भन्सार तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म बेलहिया नाका हुँदै मोटरसाइकल चार अर्ब ४१ करोड ७१ लाख मूल्य बराबरको आयात हुँदा चार अर्ब ८५ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै जिप, कार र भ्यान ४६ करोड ६५ लाख रुपियाँको आयात हुँदा एक अर्ब १८ करोड ५५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

इलेक्ट्रिक कार, जिप र भ्यान तीन अर्ब ४६ करोड ८३ लाखको आयात हुँदा एक अर्ब तीन करोड ७९ लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यसैगरी पिकअप तथा डेलिभरी भ्यान ५० करोड ६८ लाख रुपियाँको आयात हुँदा ८३ करोड ७९ लाख रुपियाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।

आयात मात्रै घटेको नभई पछिल्लो समय अटोको बिक्रीसमेत घटेको व्यवसायी बताउँछन् । भैरहवा र यस आसपासमा रहेका अटो व्यवसायीले विगतका तुलनामा ५० प्रतिशत बिक्री घटेको जनाएका छन् । बज अटोमोबाइल्सका प्रबन्ध निर्देशक हरिबहादुर थापाले आर्थिक मन्दी लाग्दा मोटरसाइकल बिक्री अत्यधिक घटेको बताउनुभयो ।

“उपभोक्ताको आर्थिक अवस्था खस्कँदो छ, यसले गर्दा सवारी खरिद गर्ने न्यून छन्,” उहाँले भन्नुभयो, “हामीले यस पटक विगतका वर्षमा भन्दा आधाजति पनि सवारी बिक्री गर्न सकेका छैनौँ ।” रुपन्देहीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा टेम्पो र ठूला सवारी गरी चार दर्जनभन्दा बढी अटोमोबाइल्सका सोरुम सञ्चालित छन् ।