• १३ मंसिर २०८१, बिहिबार

तानसेन नगरपालिकाले साझेदारी कार्यक्रम रद्द गर्ने

blog

तानसेन फागुन २ गते । तानसेन नगरपालिकाले साझेदारी कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको १५ औँ बैठकले निर्णय गर्दै हेफर इन्टरनेशन नेपाल लगायतका अन्य सङ्घ संस्थासँग गरिएका साझेदारी कार्यक्रमहरू रद्द गर्ने जनाएको हो ।

बैठकको १५ निर्णय सार्वजनिक गर्दै नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले नगरको आवश्यकता र विकासका कामलाई तीव्रता दिइएको बताउनुभयो । उहाँले बैठकले करारका कर्मचारीको म्याद थप, रानिमहल दरबार,पाल्पा दरबार , श्रीनगर डाँडा तथा तानसेन नगरपालिका भित्रका पर्यटकीय स्थललाई सुधार गर्दै व्यवस्थित गर्न लागि परेको बताउनुभयो । यस्तै गरी विभिन्न शाखा र वडाका लागि करारमा सेवा पदपूर्ति गर्ने प्रवक्ता कार्कीले बताउनुभयो ।

यसका साथै नगरपालिकाले अव्यवस्थित रूपमा निर्माण भएका राजमार्गको सडक सीमा क्षेत्रका घर टहराहरूबाट शुल्क उठाउनका लागि लगत सङ्कलन गरेको र पाल्पा दरबार सङ्ग्रहालय परिसरका टहराहरू हटाउनका लागि आवश्यक छलफल गरिरहेको जानकारी दिनुभयो । 

प्रवक्ता कार्कीले तानसेनको खानेपानी उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो । यसका साथै फोहर मैला व्यवस्थापनको काम निजी क्षेत्रले गर्दा नगरपालिकालाई घाटा लागेकोले सम्झौता रद्द गर्नका लागि आवश्यक अध्ययन भइरहेको जानकारी दिनुभयो ।

Author

बिन्दु थापा