• १३ साउन २०८१, आइतबार

नेपाल–भारत सहकार्यबारे छलफल

हवाई ‘रुट’ उपलब्ध गराउन आग्रह

blog

काठमाडौँ, फागुन २ गते । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको छ। 

सोमबार नेपाल आउनुभएका विदेश सचिव क्वात्राले नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्नुभयो। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणको तयारीबारे भेटवार्तामा कुराकानी भएको थियो। उहाँका अनुसार प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव क्वात्राले भ्रमणका लागि आफूहरू तयार रहेको जानकारी गराउनुभएको थियो। भ्रमणको मिति भने तय भएको छैन तर प्रधानमन्त्री प्रचण्डले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि मात्र विदेश भ्रमण गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार नै कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताउनुभएको थियो। प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा र संस्कृतिलगायतका विषयमा छलफल भएको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राख्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको राससले जनाएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना तथा शुभेच्छा व्यक्त गर्नुभएको थियो।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार आइपुग्नुभएको हो। उहाँ नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो। 

यसअघि विदेश सचिव क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग गरेको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. पौड्यालले जानकारी दिनुभयो। उहाँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको बताउनुभयो।

मुख्य गरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापार तथा जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाली मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत मन्त्री पौड्यालले कुरा राख्नुभएको थियो।