विप्रेषण अर्थात् रेमिट्यान्सका माध्यमबाट आउने बाह्य आयले देशको अर्थतन्त्र चलायमान छ । चालु आर्थिक वर्षको छ महिनामा मात्र विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४.२ प्रतिशतले मात्र बढेको थियो । २०८२ पुसमा मात्र विप्रेषण १९२ अर्ब ६२ करोड रुपियाँ रहेको छ ।
चीन र मलेसियाका उद्योगी तथा लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर उद्योग सञ्चालन गर्न प्रविधि र आर्थिक लगानीका लागि आफूहरू तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा पदार्थ आपूर्तिको सहजता, अनुकूल तापक्रम, पर्याप्त जनशक्ति र ढुवानीको राम्रो पूर्वाधारका कारण रुपन्देहीबाट उत्पादन गरी भारत तथा युरोपेली मुलुकसम्म निर्यात गर्न ठुलो सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।
बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि सिफारिस गर्ने र निर्णय गर्ने समय घटाइएको छ । बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ मार्फत अर्थ मन्त्रालयले सिफारिस र स्रोत सहमतिको अन्तिम निर्णय दिने समय घटाएको हो ।
विभिन्न व्यक्तिले इजाजत लिएर राखेका २३ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख रुपियाँभन्दा बढी आर्थिक सहायता दिलाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ ४० पैसा र बिक्रीदर १४५ रूपियाँ कायम भएको छ ।
नेपाल आयल निगमले ग्यासको आयात मागभन्दा बढी भएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न अनुरोध गरेको छ । दैनिक ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्नेमा तीन दिनको अवधिमा इन्डियन आयल कर्पाेरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेकाले बढी ग्यास सञ्चय नगर्न निगमले आग्रह गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमामा एकद्वार प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले बिमितले तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बिमा गरिसकेपछि उपचार गराउन सक्नुपर्ने बताउनुभयो ।
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि ‘फिल्ड’ मा खटिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना तयारीका लागि कार्यदल गठन गरेको थियो ।
छिन्ताङ हत्याकाण्डका सहिद रणध्वज पुमाराईका जेठा छोरा भाइलाल राईको घर सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यास्थित तल्लो डाँडा गाउँमा छ । बुवाको २०३६ सालमा हत्या भएपछि आमा शशिकला राईले निकै दुःखले भाइलाललाई हुर्काउनुभयो । हाल उहाँ मजदुरी र कृषिकर्म गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । धेरै दुःख भएकाले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिन पाउनुभएन । उहाँका दुई छोरा पनि मजदुरी गर्दै आउनुभएको छ । जसोतसो घरसम्म धारो त आएको छ तर त्यसमा पानी नआउँदा खानेपानीको लागि प्रत्येक दिन करिब आधा घण्टाको दुरीमा रहेको कुवा धाउनु पर्छ ।
झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बुधबार अपरान्ह टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दार्चुला जिल्लाको उत्तरीक्षेत्र तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको टिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका-१० र ११ वडा अन्तर्गतका दई, कोटबाडा, धैन, लोली, तल्लिबाडा, हितबाडा, रोकायाबाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन् ।