बुटवल समाचारदाता
बुटवल, माघ २२ गते । चीन र मलेसियाका उद्योगी तथा लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर उद्योग सञ्चालन गर्न प्रविधि र आर्थिक लगानीका लागि आफूहरू तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा पदार्थ आपूर्तिको सहजता, अनुकूल तापक्रम, पर्याप्त जनशक्ति र ढुवानीको राम्रो पूर्वाधारका कारण रुपन्देहीबाट उत्पादन गरी भारत तथा युरोपेली मुलुकसम्म निर्यात गर्न ठुलो सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।
मलेसियाका स्टेवार्ड चेन (जेबिसी तथा जेडिएफका अध्यक्ष), चीनका जोएसन छिन, भेलिरिन क्विन र मार्क लाइकसहितको टोलीले रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको स्थलगत अध्ययनपछि यहाँ उद्योग स्थापनाको उच्च सम्भावना देखिएको जनाएको हो । विशेष गरी अव्यवस्थित फोहोरमैला प्रशोधन गरी बहुउपयोगी वस्तु उत्पादन र निर्यात गर्न सकिने ठोस योजनासहित टोली रुपन्देही आएको बताइएको छ ।
लगानीकर्ताका अनुसार दक्षिणी छिमेकी भारतमा ठुलो बजार हुनु, सीमामा कुनै ठुलो अवरोध नहुनु र अन्तर्राष्ट्रिय विमानस्थलको उपलब्धताले यो क्षेत्रलाई निर्यातमुखी उद्योगका लागि उपयुक्त बनाएको छ । “यहाँको सम्भावनालाई उपयोग गर्दै अब आयात होइन, निर्यात गर्ने वस्तु ठुलो मात्रामा उत्पादन गर्नु पर्छ,” टोलीका नेता स्टेवार्ड चेनले भन्नुभयो, “प्रविधि र लगानीको वातावरण बनाउन हामी तयार छौँ, अब ढिलाइ गर्नु हुँदैन ।”
टोलीको भ्रमण तथा अध्ययन कार्यक्रमको संयोजन लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले गर्नुभएको थियो । पन्थीका अनुसार कानुनी झन्झट र अनावश्यक विवादबाट लगानीकर्तालाई टाढा राख्न सकिए यस्ता विदेशी लगानीकर्ताको आगमन अझ बढ्न सक्छ ।
“यहाँ कामभन्दा बढी विरोध र हल्लाले समस्या सिर्जना गरेको छ,” उहाँले भन्नुभयो, “फोहोरमैला व्यवस्थापन जस्तो जटिल समस्यालाई अवसरमा बदल्ने योजना लिएर आएको यो टोलीले सकारात्मक सन्देश दिएको छ ।”
लगानीकर्ताले रुपन्देही उद्योग सङ्घसँग पनि भेटघाट गरी लगानीको वातावरण, सहकार्य र सम्भावित उद्योगबारे विस्तृत छलफल गरेका छन् । सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले अध्ययन टोली यहाँको सम्भावनाबाट सन्तुष्ट भएको बताउँदै निजी क्षेत्र र सङ्घ–प्रदेश–स्थानीय तिनै तहका सरकारले समन्वय गरेर लगानी भित्र्याउन विशेष योजना बनाउनुपर्ने बताउनुभयो ।
“निर्यात सम्भावना भएका उद्योगमा विदेशी लगानी भित्र्याउने यस्तो अवसरलाई खेर जान दिनु हुँदैन,” पराजुलीले भन्नुभयो । सङ्घका महासचिव तथा युवा उद्योगी सुमन बस्यालले स्पष्ट योजना र प्रविधिसहित आएका लगानीकर्तासँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “विश्वभर लगानीकर्ताहरू सम्भावना अध्ययनपछि मात्रै अघि बढ्छन्, यो टोलीको आगमन निकै सकारात्मक सङ्केत हो,” उहाँले भन्नुभयो ।
रुपन्देही उद्योग सङ्घले चिनियाँ तथा मलेसियन लगानीकर्तासँग द्विपक्षीय सहकार्यका लागि प्रस्तावसमेत गरेको छ ।