• २२ माघ २०८२, बिहिबार

ग्यास अनावश्यक सञ्चय नगर्न अनुरोध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २२ गते । नेपाल आयल निगमले ग्यासको आयात मागभन्दा बढी भएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न अनुरोध गरेको छ । 

दैनिक ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्नेमा तीन दिनको अवधिमा इन्डियन आयल कर्पाेरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेकाले बढी ग्यास सञ्चय नगर्न निगमले आग्रह गरेको हो । 

लोड भएका केही ग्यास बुलेट बाटामा रहेको र केही भोलिसम्म नेपाल भित्रिइसक्ने भएकाले ग्यासको अभाव नहुने निगमले जनाएको छ । बरौनी रिफाइरी केन्द्र साता मर्मत गर्दा ग्यासको आपूर्तिमा सामान्य अवरोध भएको थियो । हाल सो केन्द्रबाट मर्मतसम्भारको काम सकेर ग्यासको आयात नियमित हुन थालेको निगमले जनाएको छ । 

निगमका कार्यकारी डा. चण्डिकाप्रसाद भट्टले मागभन्दा बढी ग्यासको आयात भइरहेकाले बजारमा ग्यासको अभाव नहुने जानकारी दिनुभयो ।

उहाँले हल्लाको भरमा लागेर अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँका अनुसार उपभोक्ताले ग्यास अभाव हुन्छ कि भन्ने आशङ्काले घरमा रहेका खाली सिलिन्डर पनि भर्न थालेपछि ग्यासको अभाव देखिएको हो । 

नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बाहिर देखिए जस्तो बजारमा ग्यासको अभाव नभएको जानकारी दिनुभयो । नेपाल ग्यासको सामान्य अभाव देखिए पनि अन्य ग्यासको अभाव धेरै नभएको उहाँको भनाइ छ । 

निगमका अनुसार देशभर दैनिक ९० बुलेट (एक लाख १४ हजार सिलिन्डर) आवश्यक पर्छ तर पछिल्लो शनिबारदेखि मङ्गलबारसम्ममा भने मागको तुलनामा दैनिक अतिरिक्त २५ देखि ४२ वटासम्म बुलेट नेपाल भित्रिँदै आएका छन् ।