विप्रेषण अर्थात् रेमिट्यान्सका माध्यमबाट आउने बाह्य आयले देशको अर्थतन्त्र चलायमान छ । चालु आर्थिक वर्षको छ महिनामा मात्र विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४.२ प्रतिशतले मात्र बढेको थियो । २०८२ पुसमा मात्र विप्रेषण १९२ अर्ब ६२ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण १२२ अर्ब ४४ करोड रुपियाँ रहेको थियो । पुसको वृद्धि अमेरिकी डलरको विनिमय दर बढेका कारण पनि हो । यो पुँजी नेपाली युवाशक्तिले विदेशमा बेचेको श्रमबाट प्राप्त भएको हो । त्यसको सदुपयोग राम्रो नभएको आमगुनासो पनि छ । त्यसरी पुँजी आउने डिजिटल भुक्तानीको माध्यममा आइएमई अग्रणी छ । प्रस्तुत छ : यसै सेरोफेरोमा गोरखापत्र अर्थबजार ब्युरोले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलसँँग गरेको अन्तर्वार्ता :
‘आइएमई गरौँ’, पैसा पठाउन यो नाम नै कसरी आयो ?
वास्तवमा ‘आइएमई गरौँ’ अहिले केवल एउटा वाक्य मात्र नभई समग्र रेमिट्यान्स क्षेत्रकै पर्यायवाची शब्द बनेको छ । जुनसुकै माध्यमबाट पैसा पठाउँदा पनि जनजिब्रोमा यो पदावली झुन्डिनु हाम्रा लागि गौरवको विषय हो । यो सफलता रातारात प्राप्त भएको होइन; यसका पछाडि मुख्य कारण यस्ता छन् : पहिलो कारण ‘विरासत र निरन्तरता’ हो । विगत साढे दुई दशकदेखि हामीले रेमिट्यान्स सेवामा जुन उच्चस्तरको मानक कायम गरेका छौँ, यो त्यसैको प्रतिफल हो । दोस्रो कारण ‘प्रविधि र सहजता’ हो । समयको मागसँगै प्रविधिमा गरिएको सुधार र प्रयोगकर्तामैत्री सेवाले गर्दा आमसेवाग्राहीको मन जित्न सफल भएका हौँ र तेस्रो कारण ‘जनविश्वासको सम्मान’ हो । दुई दशकभन्दा लामो समयदेखि अविचलित रूपमा प्रदान गरिएको गुणस्तरीय सेवा र इमानदारीका कारण सेवाग्राहीले माया स्वरूप आइएमईलाई यो ‘ब्रान्ड ट्याग’ प्रदान गरेका हुन् ।
यसको ब्रान्डिङबारे पनि केही बताइदिनुहोस् न ।
छोटोमा भन्दा, हामी हाम्रो ब्रान्डको उपस्थितिलाई लिएर निकै सचेत र संवेदनशील छौँ तर ब्रान्डिङ भनेको केवल लोगो र आकर्षक नारा (ट्याग लाइन) को विस्तार मात्र होइन । आर्थिक कारोबार आफैँमा एक संवेदनशील क्षेत्र हो । हामीले यसलाई केवल व्यवसायका रूपमा मात्र नहेरी एउटा ‘गहन जिम्मेवारी’ को रूपमा लिएका छौँ । हाम्रो हरेक कदममा देखिने सुझबुझ र उत्तरदायित्वले नै हामीलाई स्थापित गरेको हो । आइएमईले सुरुदेखि नै सरल, छिटो र भरपर्दो सेवा प्रवाहमा जोड दिँदै आएको छ । जब सेवामा सरलता र सुरक्षाको ग्यारेन्टी हुन्छ, तब सेवाग्राहीमा एक किसिमको भरोसा पैदा हुन्छ । अन्ततः त्यही भरोसा नै बलियो ‘ब्रान्ड’ मा रूपान्तरण हुने हो । हाम्रो ब्रान्ड भ्यालु बढाउन सञ्चार जगत्को समेत ठुलो योगदान छ । हाम्रा सेवाबारे निरन्तर सूचना प्रवाह गर्ने र आवश्यक पर्दा खबरदारीसमेत गरिदिने सञ्चार माध्यमलाई हामी ब्रान्ड विस्तारको अभिन्न सहयोगी मान्छौँ ।
आइएमईका प्रतिस्पर्धी धेरै छन् । बजारको हिस्सा कस्तो छ ?
कुनै पनि क्षेत्रमा जहाँ वृद्धिको सम्भावना हुन्छ, त्यहाँ प्रतिस्पर्धा हुनु स्वाभाविक र स्वस्थ प्रक्रिया हो । यसले सेवाको गुणस्तर सुधार्न मद्दत पु¥याउँछ । यद्यपि मेरो विश्लेषणमा नेपालको वर्तमान रेमिट्यान्स बजारको आकार सबै सेवाप्रदायकलाई पर्याप्त हुने गरी विस्तार भइसकेको छैन । रेमिट्यान्स क्षेत्रमा कुन कम्पनीको कति योगदान छ भन्ने कुरा नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने आधिकारिक प्रतिवेदनले प्रस्ट पार्छन् । ती तथ्याङ्कले हाम्रो अवस्थितिलाई स्पष्ट ऐना देखाइरहेका हुन्छन् । नेपाल सरकारले सबैभन्दा बढी वैदेशिक मुद्रा भिœयाएको आधारमा आइएमईलाई पटक पटक जुन सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ, त्यसले नै हाम्रो बजार हिस्सा ‘निःसन्देह’ अग्रणी छ भन्ने कुरा प्रमाणित गर्छ ।
वालेट पेमेन्ट खल्तीलाई पनि तपाईंहरूले आफ्नै खल्तीमा हाल्न सक्नुभयो । अहिले यसको बजारीकरण कसरी भइरहेको छ ?
डिजिटल भुक्तानीका क्षेत्रमा निकै धेरै काम हुन बाँकी छ । बिस्तारै सेवाग्राही यस्तो प्रकृतिको आर्थिक कारोबारमा अभ्यस्त हुन थालेका छन् । अहिले यो क्षेत्रमा सबै मिलेर काम गर्ने बेला हो । यो क्षेत्रको विकास र विस्तारमा अलिक नतिजामुखी काम गरौँ भनेर नै हामी एक भएका हौँ । बजारीकरणका अतिरिक्त समग्र डिजिटल भुक्तानीका क्षेत्रको संस्थागत विकासका लागि हामी एक भएपछि एउटा छुट्टै ऊर्जाका साथ काम भइरहेको छ ।
आइएमई कम्पनीहरूको समूह पनि हो । आफ्नै समूहका कम्पनीसँग आइएमई लिमिटेडको सहकार्य कसरी हुन्छ ?
आइएमई समूहका धेरै कम्पनी अहिले पब्लिक लिमिटेड कम्पनीमा छन् । व्यापार र व्यवसायको प्रकृति अनुसार एक र अर्को कम्पनीबिचको सहकार्य एउटा सामान्य कर्पोरेट कल्चर हो, सहकार्य अवश्य हुन्छ तर सहकार्यको न्यूनतम बटम लाइन दुवै पक्ष लाभान्वित हुनु पर्छ भन्ने नै हुन्छ जसका कारणले सेवाग्राहीले थप लाभ प्राप्त गर्न सकून् ।
विदेशबाट आउने पैसा पहिले यहाँहरूकै च्यानलमा आउँछ । यस अवस्थामा रेमिट्यान्सको उपयोगलाई कसरी हेर्नु हुन्छ ?
हामी नेपाली दाजुभाइ दिदीबहिनीले अन्तर्राष्ट्रिय श्रम बजारमा दुःखले आर्जन गरेको रकम उनीहरूका आफन्तसम्म सकुशल पु¥याउने माध्यम मात्र हौँ । रेमिट्यान्सलाई यसरी उपयोग गर्नु पर्छ भन्ने विषयमा हाम्रो पौरवी विभिन्न फोरममा राख्दै आएका छौँ तर त्यसका लागि आवश्यक पर्ने निश्चित नीति राजनीतिक निर्णयमा निर्भर हुने विषय भयो । राज्य वा राज्यका कुनै पनि निकायले यसरी काम गरौँ भन्दा हामी तयार नै छौँ । रेमिट्यान्सबाट प्राप्त रकम बचत गर्नु पर्छ, बचतको बानी बसाल्नु पर्छ भन्ने जस्ता सचेतनामूलक कार्यव्रmम त हामीले गर्दै आइरहेका छौँ । त्यसका साथसाथै गैरआवासीय नेपालीको सहकार्यमा विभिन्न उत्पादनशील क्षेत्रमा हामीले काम पनि गरेका छौँ तर त्यो सहकार्य मात्रले विदेशमा आयआर्जन गर्ने सम्पूर्ण नेपालीलाई समेटन सकिएको छैन । त्यसका लागि स्थानीयस्तरमै हामी पुग्नु पर्छ जुन कुरा सरकारको नीतिगत निर्णयबिना सम्भव छैन ।
रेमिट्यान्सका आधारमा मात्र निर्भर अर्थतन्त्रलाई सुधार्न के गर्नुपर्छ ?
सन् १८१६ को सुगौली सन्धिपछि नै नेपाल कुनै न कुनै प्रकारले रेमिट्यान्स आयमा निर्भर छ चाहे त्यो औपचारिक होस् चाहे अनौपचारिक, चाहे मौसमी रोजगारी होस् चाहे त्यो निश्चित समयका लागि स्थायी प्रकृतिको । यो हाम्रो आर्थिक कारोबारको मुख्य हिस्सा हो । एक प्रकारले हेर्दा यो आयातित अर्थतन्त्र हो, त्यो पनि आफ्नै उर्वर श्रम शक्तिले अन्तर्राष्ट्रिय श्रम बजारमा श्रम बेचेको पैसा ! दिगो आर्थिक विकासमा टेवा दिने स्रोत मान्न नसकिएला तर यत्रो दुई सय वर्षदेखि हामीलाई आर्थिक क्षेत्रमा भरथेग गर्दै आइरहेको स्रोत त पक्वै हो । विश्व अहिले एकै देश जस्तो भएको छ, अवसर बढेका छन् श्रम जनशक्तिमा सिपयुक्त जनशक्ति पनि थपिएको छ । अवसरको खोजीमा विदेश जानेलाई नजाऊ भन्न सकिँदैन, विदेश जाने क्रम आगामी दिनमा पनि कम हुन्छ भन्ने लाग्दैन । त्यसैले रेमिट्यान्सलाई नै उत्पादनशील क्षेत्रमा कसरी आकर्षित गर्ने भन्ने स्पष्ट नीतिगत व्यवस्था आजको आवश्यकता हो । जसका लागि राज्यको आधारभूत तह स्थानीयस्तरबाट नै जिम्मेवार बन्ने बनाउने संयन्त्र निर्माण हुनु पर्छ । यो अलि बृहत् मुद्दा हो जसको विषयमा अलि विस्तारमा कुरा गर्नु पर्छ ।
बाह्य पुँजीलाई आन्तरिक पुँजीमा रूपान्तरण गरेर दिगो आर्थिक विकासमा लगाउने यहाँहरूको कुनै योजना छ कि ?
यो विषयमा माथि नै धेरै कुरा भयो । नेपाल आर्थिक विकासमा अलि पछाडि छ, स्रोतको व्यवस्थापन गर्दै जाँदा प्रत्यक्ष वैदेशिक लगानी आदि इत्यादि जुट्न सक्ने विषय भयो । यो मुद्दा मूलतः एउटा कम्पनीसँग मात्र सम्बन्धित विषय नै होइन तर हाम्रो नेतृत्वले यो प्रयास गरिरहनुभएको छ ।
साझेदार र सरोकारवालाका के कस्ता समस्या छन् ?
रेमिट्यान्स ज्यादै कम व्यवसायको स्रोत भएको क्षेत्र हो । जसको एउटा मात्र काम छ, विदेशबाट नेपालीले पठाएको पैसा उसको आफन्तसम्म पु¥याइदिने, एक प्रकारले मध्यस्थकर्ता । यस्तो सङ्कुचित व्यवसायको क्षेत्रमा पनि बैङ्क तथा वित्तीय संस्थाले काम गरिरहेका छन् । एक वा सोभन्दा बढी क्षेत्रमा काम गर्न पाउने बैङ्क तथा वित्तीय संस्था रेमिट्यान्स सेवाप्रदायक कम्पनीसँग एउटै मैदानमा भिड्दा रेमिट्यान्स क्षेत्रको अस्तित्व बिस्तारै सङ्कटमा पर्छ कि ? भन्ने एक खालको संशय हामीमा छ । यस्तो परिस्थितिमा रेमिट्यान्स कम्पनीलाई वर्गीकरण गरेर हैसियत अनुसारको काम गर्न दिँदा रेमिट्यान्स सेवाप्रदायक कम्पनीले आफ्नै मैदानमा थप जिम्मेवार भएर काम गर्न सक्छन् कि ? त्यो परीक्षणको मौका मिलोस् भन्ने नै छ ।
अन्य केही महत्वपूर्ण कुरा छन् कि ?
देश निर्वाचनको तयारीमा छ । निर्वाचन थिति स्थापित गर्ने मौका पनि हो । निर्वाचन निष्पक्ष र भयरहित ढङ्गले सम्पन्न होस् । निर्वाचनपछि गठन हुने सरकारले रेमिट्यान्सलाई कसरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने ? भन्ने एउटा निश्चित नीतिको निर्माण गरोस् ।