गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २२ गते । आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि ‘फिल्ड’ मा खटिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना तयारीका लागि कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गर्नुपर्ने उल्लेख थियो । सोही प्रस्ताव अनुसार राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचन सुरक्षार्थ नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । गत मङ्सिर ११ गते मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएको थियो । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यस अनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने कामसमेत सुरु गरिसकेको थियो ।
राष्ट्रपतिद्वारा दुई महिनाअघि नै सेना परिचालनको सिफारिस भए पनि विगतको अभ्यास जस्तै निर्वाचनको मितिभन्दा ठिक एक महिनाअघि बुधबारदेखि सेना औपचारिक रूपमा परिचालन भएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत १६५ निर्वाचन क्षेत्रमा ७९ हजार ७२७ सेना परिचालन भएका छन् । यसबाहेक नेपाली सेनाले बुधबारदेखि देशभरका विमानस्थल, कारागार, राष्ट्रबैङ्क तथा वित्तीय संस्था तथा पुरातात्त्विक तथा रणनीतिक महत्वका संरचनामा सुरक्षा प्रदान गर्र्ने छ ।
राष्ट्रपतिद्वारा निर्वाचन सुरक्षार्थ सेना परिचालन गर्न स्वीकृति प्रदान भएसँगै नेपाली सेना र अन्य तीन वटा सुरक्षा निकायसँगको संयुक्त गस्ती सुरु भइसकेको छ । अब औपचारिक रूपमा सेना फिल्डमा खटिएपछि आवश्यकता अनुसार छुट्टै गस्ती तथा सर्च अपरेसन सुरु हुने छ । निर्वाचन आयोगले आउँदो निर्वाचनमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेका मतदान स्थलहरूमा हुन सक्ने सम्भावित सुरक्षा जोखिमबारे सेनाले नक्साङ्कन गरी तोकिएको क्षेत्र हेर्र्ने छ । निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा मतपत्र छपाइ हुने स्थानमा यसअघि नै सेनाको तैनाथी भइसकेको छ । निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी पनि सेनाले नै गर्ने छ । सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार निर्वाचन अवधिभर निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने छ । निर्वाचनको अवधिमा सम्भावित सुरक्षा अवस्थालाई हेरी सेनाले हवाई गस्तीका लागि सुर्खेत, पोखरा, काठमाडौँ, विराटनगर, इटहरी गरी पाँच ठाउँमा हवाई साधन र हेलिकोप्टर तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ ।
कतिपय दुर्गम र सवारी साधन पुग्न नसक्ने स्थानमा सेनाले हेलिकोप्टरमार्फत आवश्यक सुरक्षाकर्मी तत्कालै पुर्याउने गरी तयारी भइसकेको छ । त्यस्तै निर्वाचन सकिएपछि पनि यस्ता ठाउँमा हेलिकोप्टरमार्फत नै मतपेटिका गणनास्थलसम्म ल्याउने काम सेनाले गर्ने छ । त्यसै गरी निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सेनाले जङ्गी अड्डादेखि जिल्ला तहमा रहने गणसम्म निर्वाचन सेल गठन गरी अनुगमन र समन्वय सुरु गरिसकेको छ । मतदान सकिएपछि मतगणना पूरा भई नतिजा नआउन्जेल सेनाले मतपेटिका ढुवानी तथा सुरक्षा पनि प्रदान गर्ने छ ।