• २२ माघ २०८२, बिहिबार

बहुवर्षीय आयोजना : स्रोत सहमतिको समय घटाइयो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २२ गते । बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि सिफारिस गर्ने र निर्णय गर्ने समय घटाइएको छ । बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ मार्फत अर्थ मन्त्रालयले सिफारिस र स्रोत सहमतिको अन्तिम निर्णय दिने समय घटाएको हो । 

मापदण्ड अनुसार राष्ट्रिय योजना आयोगले मन्त्रालय वा निकायबाट कात्तिक मसान्तभित्र प्राप्त बहुवर्षीय आयोजनाको स्रोत सहमति प्रदान गर्न उपयुक्त देखेमा मङ्सिर १५ गतेभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्ने छ । यसअघि यस्तो समय मङ्सिर मसान्तसम्म थियो । त्यसरी प्राप्त सिफारिसका सम्बन्धमा अर्थ मन्त्रालयले पुस १५ गतेभित्र स्रोत सहमति सम्बन्धमा निर्णय गरेर सम्बन्धित मन्त्रालय र आयोगलाई दिनुपर्ने व्यवस्था गरिएको छ । गत वर्ष यस्तो समय पुस मसान्तसम्म थियो । 

अर्थ मन्त्रालयले सहमतिको निर्णय गर्दा आयोजनाको मध्यमकालीन संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट त्रिवर्षीय बजेट प्रक्षेपण, चालु आर्थिक वर्षको बजेट र स्रोतलाई आधार बनाउन सक्ने मापदण्डमा उल्लेख छ । 

मापदण्डमा चालु आवमा स्रोत सहमति माग गर्न भने विशेष व्यवस्था गरेको छ, जस अनुसार मन्त्रालय वा निकायले पुस मसान्तभित्र आयोजनाको प्रस्ताव आयोगमा पेस गर्न सक्ने, आयोगले माघ १५ गतेभित्र सिफारिस गर्न सक्ने र मन्त्रालयले माघ मसान्तभित्र सहमति दिन सक्ने व्यवस्था मापदण्डमा गरिएको छ ।   

नयाँ आयोजनामा स्रोत सहमति माग गर्दा विगतका आवमा स्रोत सहमति प्राप्त भइसकेको आयोजनाका लागि आवश्यक हुने बजेट छुट्याए बाँकी रहन सक्ने बजेटका आधारमा मात्र माग गर्नुपर्ने व्यवस्था पनि मापदण्डले गरेको छ ।