बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेकयमा छलफल हुनेछ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।
दाङमा लगातार परेको अविरल बर्सातका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलमा क्षति गरेको छ ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ । आइतबार बिहान ८ बजे कचनकवल गाउँपालिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो ।
नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
जङ्गली च्याउ खाँदा तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकै घरका तीन जना बालिका शनिवार बिरामी भएका छन् ।
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।