महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।
आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १० एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८ प ५०३२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका वार्ड नं. १ बस्ने वर्ष २२ का कृत्रिम रायमाझीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल जानकारी दिनुभयो ।
वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गते देखि पूर्ण रूपमा खुलेको हो ।
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।
तनहुँमा घुमाउने घर देख्ने बित्तिकै दरै जातीको घर हो भन्ने पृथक् पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् । आधुनिक घर बने बन्न थालेपछि हाल घुमाउने (बाटुले) घर विरलै देखिन्छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् । केही वर्ष अघिसम्म जिल्लाका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक–दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ गाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।
भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ ।
लमजुङ कारागारमा विभिन्न मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले कारागारभित्रै तिहार मनाएका छन् । आफ्ना दिदीवहिनीलाई भाइटीका लगाएका छन् ।
दैलेखका केही ग्रामीण क्षेत्रमा भैलो मात्र हैन भोसी अर्थात भास्सी खेल्ने चलन छ । एक बिशेष संस्कृति भोसी खेल्ने परम्परा अझै पनि कायम छ । करिब लोपको अवस्थामा पुगेको यो संस्कृति जोगाउन अहिले युवाहरु सक्रिय भएका छन् ।
भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा लगातार दोस्रो जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५७ रनले हरायो ।
दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन् । बिहीबार बिहानैदेखि रानीपोखरीमा भाइटीका लगाउनेको भीड लागेको थियो ।
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्शाउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौ दिन कात्तिक शुक्ल द्वितीयातिथिमा दाजुभाइको दीर्घायुको कामनासहित भातृद्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।