काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्याउनुपर्ने थियो, त्यस हिसाबले पुर्याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताउनुभयो । उहाँले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रुपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताउनुभयो । अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले सीमित जनशक्ति र साधनस्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्ति भ्रमको खेतीमा लागेका उहाँको आरोप थियो । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निकै सुधार भएको महासचिव पोखरेलले बताउनुभयो ।राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उहाँले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने बताउनुभयो । महासचिव पोखरेलले पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा राख्नुभयो । आजसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ नामक गौरवपूर्ण योजनाअन्तर्गत निर्माण हुने ६४ वटा सडक आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विद्युतीय माध्यममार्फत शिलान्यास गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चित्त बुझ्दो काम नभए ठेक्का तोडिने बताउनु भएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल कालेमानेमा मेवाको जुस उत्पादन सुरु गरिएको छ । २० जना कृषक आबद्ध टि.यम.जि.एग्रो कृषक समूहले निर्माण गरेको मेवाको जुस प्रशोधन सेन्टरले आइतबारबाट जुस उत्पादन सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पत्रकारको क्षमता वृद्धिका लागि तालीम आवश्यक रहेको बताउनुभएको छ । आइतबार अनलाइन मल्टिमिडियासम्बन्धि सुदूरपश्चिम स्तरीय दुई दिने प्रशिक्षणको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ।आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भएर उहाँले सो जात्रा अवलोकन गर्नुभएको हो।
इलामको सूर्योदय नगरपालिकामा बृहत् साकेला प्रदर्शनी गरिएको छ । उभौली पर्वको अवसरमा किरात राई यायोख्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा सम्पन्न साकेला कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका किरात समुदायका विभिन्न संस्था तथा समुदायले साकेला प्रदर्शन गरेका हुन ।
काठमाडौँ, जेठ १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित बृहत् स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताउनुभयो ।मन्त्री पौडेलले भन्नुभयो, “केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।”स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उहाँले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताउनुभयो । राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताउनुभयो । उहाँले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश्वर गौतमले सधैँ जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताउनुभयो । नेपाल प्रेस युनियन, काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै रहेको ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण मकवानपुर गढी दरबार पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।
राजन रावत हुम्ला, जेठ १८ गते । साक्षर घोषित भएको हुम्लाका सात वटै गाउँपालिकामा गरी एक हजार चार सय जनसङ्ख्या अझै निरक्षर रहेको पाइएको छ । राष्ट्रिय साक्षरता सम्बन्धी मापदण्ड २०७६ अनुसार ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषित गर्न सकिने भएपछि केही जनसङ्ख्या निरक्षर भए पनि घोषणा गरिएको हो ।पन्ध्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी एक हजार चार सय जना निरक्षर रहेको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले आफ्नो प्रतिवेदनमा देखाएको छ । जिल्लामा ९६ दशमलव ०४ प्रतिशत जिल्लावासी साक्षर रहनु भएको छ । यो जनसङ्ख्या तीन दशमलव ९६ प्रतिशत निरक्षर छ । उक्त उमेर समूहका ३५ हजार ३५४ जनसङ्ख्या मध्य ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको एकाइ प्रमुख योगेश आले मगरले बताउनुभयो । गाउँपालिका अनुसार निरक्षर जनसङ्ख्या यस्तो रहेको छ । नाम्खा गाउँपालिकामा १११ जना, सिमकोटमा ३७१ जना, खार्पुनाथमा २९४, सर्केगार्डमा ३१४, चङ्खेलीमा १९२ जना, अदानचुलीमा १९२ र सबै भन्दा कम ताँजाकोट गाउँपालिकामा ६६ जना निरक्षर रहेको प्रतिवेदनले देखाएको छ । यी गाउँपालिकामा निर्धारित उमेर समूहको जम्मा जनसङ्ख्या र साक्षर जनसङ्ख्या भने यस्तो रहेको छ । नाम्खामा जम्मा दुई हजार ८८९ रहेकोमा त्यसमा दुई हजार ७७८ जनसङ्ख्या साक्षर रहेको छ । त्यस्तै सिमकोटमा जम्मा आठ हजार ४४३ रहेकोमा आठ हजार ७२ जनसङ्ख्या साक्षर रहेको छ । यता खार्पुनाथमा चार हजार ३२१ मा चार हजार १३४ साक्षर जनसङ्ख्या रहेको छ । त्यस्तै सर्केगार्डमा सात हजार ४३८ मा साक्षर जनसङ्ख्या सात हजार १२४ रहेको छ । चङ्खेलीमा चार हजार ५६ मा तीन हजार ८६४ जनसङ्ख्या साक्षर छ । अदानचुलीमा चार हजार ३९९ जनसङ्ख्यामा चार हजार २०७ जनसङ्ख्या साक्षर रहेको छ भने ताँजाकोट गाउँपालिकामा ती हजार ८४१ जनसङ्ख्यामा तीन हजार ७७५ जनसङ्ख्या साक्षर रहेको छ । यसअघि सबै भन्दा पहिले खार्पुनाथ गाउँपालिकालाई २०७९ सालको असार ३१ गते ९५ दशमलव पाँच प्रतिशत जनसङ्ख्या साक्षर भएपछि पहिलो गाउँपालिका घोषित गरिएको थियो । त्यसपछि २०८० वैशाख २५ गते ९५ दशमलव छ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि दोस्रो गाउँपालिकाका रूपमा सिमकोट गाउँपालिकालाई घोषणा गरिएको थियो । त्यसैगरी २०८० असार २५ गते ९५ दशमलव ७४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि सर्केगार्ड, सोही वर्षको असा २७ गते ९८ दशमलव २८ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि ताँजाकोट गाउँपालिका, असार २८ गते ९५ दशमलव ६४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि अदानचुली , २९ गते ९५ दहमलव २४ प्रतिशत साक्षर जनसङ्ख्या भएपछि चङ्खेली गाउँपालिका २०८१ फागुन २७ गते ९६ दशमलव १६ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि नाम्खा गाउँपालिकालाई घोषणा गरिएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ।
काठमाडौँ, जेठ १८ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताउनुभएको छ । नेपाली काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताउनु भयो । उहाँले हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिनुभयो । मन्त्री ठकुरीले गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौँ उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु सङ्कटका चेतावनी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “मुलुक भरका हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै छ र भविष्यमा अझै यो भयावह हुने अवस्थामा छ । हिमालहरू खतरामा छन् । ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा छन् । सगरमाथाको क्षेत्रमा थामेमा गत वर्ष हिमताल विस्फोटले पारेको क्षतिको एक महिना अघि म आफैँ गएर हेर्ने मौका पाएको थिए । दोधार चाँदनीमा भएको वर्षातले , काठमाडौँ उपत्यकामा आएको वर्षातले निम्त्याएको बाढी,पहिरो र डुबान र जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा गएको विस्फोटजन्य तालको कारणले भएको बाढी पहिरो यी सबै जलवायु सङ्कटका चेतावनी हुन् । यी घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराउँछन् कि अब प्रतीक्षा गर्ने समय छैन । जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ ।” जलवायु सङ्कटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको बताउनु भयो ।
खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ ।