• १४ वैशाख २०८१, शुक्रबार

मुम्बई लैजाँदै गरिएकी किशोरीको उद्धार

blog

काठमाडौँ, साउन २५ गते । मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो । 

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टका अनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो । 

मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उहाँले जानकारी गराउनुभयो । बालिकालाई अहिले  नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको  समन्वयमा ‘सिडब्लु सी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र  कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । 

उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभलालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीबिना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन्  । रासस