• १४ वैशाख २०८१, शुक्रबार

'बनेपा फुटबल एकेडेमी' स्थापना

blog

बनेपामा रहेको बनेपा पोलिटेक्निकलको खेलकुद मैदानमा फुटबलको प्रशिक्षणमा सहभागी बालबालिका । तस्विर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, साउन २१ गते । काभ्रेपलाञ्चोक जिल्लामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल एकेडेमीको स्थापना गरिएको छ । लामो समयदेखि जिल्लाको बनेपामा फुटबल खेलमा सक्रिय रहेका बनेपा फुटबल क्लब (बिबिसी) र माउण्ट एभरेष्ट फुटबल क्लबको सहकार्यमा ‘बनेपा फुटबल एकेडेमी’ स्थापना गरिएको हो । 

एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहनुभएको छ । यस्तै, एकेडेमीको सदस्यहरुमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ हुनुहुन्छ । एकेडेमीको सल्लाहकारमा बागमती प्रदेश फुटबल सङ्घका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विकास नारायण श्रेष्ठ रहनुभएको छ । 

एकेडेमीले पत्रकारहरु विनोद न्यौपाने र केशवराज पौडेललाई पत्रकारिता क्षेत्रबाट सदस्यमा मनोनित गरेको छ । जिल्लामा फुटबल एकेडेमी स्थापना भएसँगै एकेडेमीको अगुवाइमा ७ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षण दिन सुरु गरिएको एकेडेमीका उपाध्यक्ष मनीष भोछिभोयाले जानकारी दिनुभयो । उहाँले एकेडेमीले अहिले ६० जना बालबालिकालाई बनेपा पोलिटेक्निकलको मैदानमा फुटबल प्रशिक्षण दिइरहेको बताउनुभयो । उहाँले बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको बताउनुभयो ।