• ६ जेठ २०८१, आइतबार

गोदामले माग धान्दैन

blog

मुगु समाचारदाता 

मुगु, साउन ९ गते  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखा कार्यालयले आवश्यकता अनुसारको चामल आपूर्ति गर्न सकेको छैन।

खाद्यले आर्थिक वर्ष २०७९/८० मा नियमित कोटा अनुसार ११ हजार ८९० क्विन्टल चामल ल्याएको थियो। हाल एक हजार क्विन्टल चामल मौज्दात रहेको जनाइएको छ। कार्यालय प्रमुख पुष्कर भामका अनुसार जिल्लाको शाखा कार्यालयमा अनुदानका चामलको कोटा कम हुँदा जिल्लाका नागरिकको माग अनुसार वितरण गर्न सकिएको छैन।

खाद्यले दैनिक १५० देखि दुई सय क्विन्टल चामल बिक्री गर्दै आएको छ। चामलको माग अत्यधिक  हुँदाहुँदै पनि आर्थिक वर्ष २०८०/८१ का लागि अनुदानको चामल गत वर्षभन्दा घटाएर १० हजार क्विन्टलमा सीमित गरिएको छ।

खाद्यले मोटो चामलको एक हजार चार सय रुपियाँ, मध्यम चामलको एक हजार ४५० रुपियाँ, बासमती चामलको दुई हजार २४०  रुपियाँ र जिरा मसिनो चामलको दुई हजार ३००  रुपियाँमा बिक्री गर्दै आएको छ। छायानाथ  रारा नगरपालिका–६ का स्थानीय बासिन्दा जन्न रावलले अनुदानको एक प्याक चामल लिनलाई दिनभरको समय खर्चेर खाद्य कार्यालयमा लाइन लागेर लिनुपर्ने गुनासो गर्नुभयो। 

खत्याड गाउँपालिका अन्तर्गत पर्ने श्रीकोटको डिपोमा दुई हजार क्विन्टल ढुवानी गर्ने जिम्मा लिएको मस्टा कन्स्ट्रक्सनले जम्मा एक सय क्विन्टल मात्र ढुवानी गरेको बताइएको छ। खत्याडको रातापनी डिपो कार्यालयमा अनिल खाद्यान्न सप्लायर्सले ७५० क्विन्टलको जिम्मा पाएकोमा ४५० क्विन्टल मात्र ढुवानी गरेको छ। सोरु गाउँपालिकाको सोरुकोट डिपो कार्यालयमा विराट कन्स्ट्रक्सनले दुई हजार क्विन्टल जिम्मा लिएकोमा सबै चामल ढुवानी गरी ५० क्विन्टल मौज्दात रहेको छ। 

मुगुमकार्मारोङ गाउँपालिकामा ढुवानी सूचना ढिलो हुँदा छायानाथ निर्माण सेवाले ७५०  क्विन्टल ढुवानी गर्ने जिम्मा लिएकोमा चार सय क्विन्टल मात्र ढुवानी भएको कार्यालयले जानकारी दिएको छ। कार्यालय प्रमुख भामले जिल्लाको शाखा कार्यालयमा चामल कम भएकाले मुगमकार्मारोङ गाउँपालिकामा कम चामल ढुवानी भएको बताउनुभयो।

उहाँले जिल्लाको शाखा कार्यालयमा आपत्कालीन सेवा दिनलाई चामलको मौज्दात भएकाले हिजोआज खाद्य कार्यालयबाट चामल बिक्रीका लागि बन्द गरिएको बताउनुभयो।