स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), जेठ ५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उहाँको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
पत्रकार रोहिता धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी रहनुभएको थियो । ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत रहनुभएको थियो । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।
आज दिउँसो ४ बजे उहाँको अन्तिम संस्कार जनकपुरधामको गङ्गासागरस्थित स्वर्गद्वारमा गरिएको छ ।