• ४ जेठ २०८३, सोमबार

सिकाइमा मूल्याङ्कनका आधार

blog

उद्देश्यपूर्ण कामको प्रभाव मापनका लागि मूल्याङ्कन सबैभन्दा राम्रो माध्यम मानिन्छ । सोच, चिन्तनगत परिष्कार, संज्ञानात्मक तथा व्यावहारिक सिप विकासका लागि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ । शिक्षण सिकाइ तथा तालिमका सन्दर्भमा मूल्याङ्कनलाई महत्वपूर्ण औजार मानिँदै आइएको छ । सामान्यतया मूल्याङ्कनलाई पूर्वमूल्याङ्कन, निरन्तर मूल्याङ्कन र अन्तिम मूल्याङ्कन गरी तीन प्रकारमा वर्गीकरण गर्ने गरिन्छ । मूल्याङ्कनले पाठ्यक्रम, शिक्षण विधि र विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्न महìवपूर्ण सहयोग पु¥याउँछ । 

मूल्याङ्कनबाटै शिक्षकले पृष्ठपोषण प्राप्त गर्ने, विद्यार्थीको उत्प्रेरणा वृद्धि हुने तथा शिक्षाविद्का लागि समयानुकूल पाठ्यक्रम र सिकारुको मनोविज्ञानसँग मिल्ने पाठ्यक्रमको निर्माण गर्न सहयोग पु¥याउँछ । मूल्याङ्कनलाई कुनै पनि परियोजनाको सफलता वा असफलता, सबलता वा दुर्बलता पहिचान गर्न र समस्या निराकरणका लागि अपरिहार्य पक्षका रूपमा लिइन्छ । मूल्याङ्कनको अपरिहार्यताका विषयमा विवाद नभए पनि यसको प्रयोग कुन काममा गर्ने भन्नेबारे भने शिक्षाविद् तथा मनोविद्का बिचमा मतैक्य पाइँदैन । 

शिक्षककेन्द्रित शिक्षण विधिमा सामान्यतया सिकाइ कस्तो भयो अथवा सिकारुले आवश्यक उपलब्धि हासिल ग¥यो वा गरेन भन्ने पहिचानका लागि मूल्याङ्कनको उपयोग गर्ने गरिन्थ्यो । यस प्रकारका वार्षिक वा सामयिक परीक्षा कम निर्माणात्मक र बढी निर्णयात्मक रहँदै आएका छन् । वर्तमान सन्दर्भमा भने सिकाइका रूपमा मूल्याङ्कन र सिकाइका लागि मूल्याङ्कन विधिका माध्यमबाट समग्र शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीकेन्द्रित र सिकारुमैत्री बनाइएको छ । शिक्षामा भएको नवप्रवर्तन र आधुनिकताको द्योतकका रूपमा समेत सिकाइको मूल्याङ्कनभन्दा सिकाइका रूपमा र सिकाइका लागि मूल्याङ्कन हुनु पर्छ भन्ने कुरालाई प्राथमिकता दिने गरिएको छ ।

परम्परागत शिक्षण क्रियाकलापमा वर्षको अन्त्यमा वा अर्धवार्षिक र त्रैमासिक रूपमा पनि विभिन्न परीक्षाका माध्यमबाट सिकारुको संज्ञानात्मक क्षमताको मूल्याङ्कन गरी निश्चित उपलब्धि हासिल भएका विद्यार्थीलाई स्तरीकरण गरिन्छ । शिक्षकले कक्षाकोठामा सिकाएको विद्यार्थीले के कति बुझे वा बुझेनन् भन्ने कुराको जाँचका लागि यस प्रकारको मूल्याङ्कन हुने गर्छ । शिक्षक निर्मित वा स्तरीकृत प्रश्नपत्रका माध्यमबाट निश्चित शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई स्तरोन्नति गर्न यस प्रकारको मूल्याङ्कन विधि उपयोग हुन्छ । यसमा विद्यार्थीले निश्चित प्रश्नको उत्तर दिई उत्तीर्ण हुनका लागि आवश्यक पर्ने न्यूनतम अङ्क हासिल गरेको हुनु पर्छ । 

विद्यार्थीले प्राप्त गरेको उपलब्धिको मापनलाई स्तरीकरण गरी विद्यार्थीको स्तर निर्धारण गरिन्छ । हाम्रो सन्दर्भमा वार्षिक परीक्षा सञ्चालन गरी विद्यार्थीलाई कक्षा चढाउने वा नचढाउने भन्ने निर्णय गर्ने निर्णयात्मक मूल्याङ्कन विधि यस वर्गमा पर्छ । यसले सत्रान्तमा विद्यार्थीले के कति उपलब्धि हासिल गरे वा गरेनन् भन्ने निक्र्योल गरे पनि उनीहरूको सिकाइलाई प्रत्यक्ष रूपमा पृष्ठपोषण गर्ने काम भने गर्दैन । अर्कातिर विद्यार्थीका जीवनोपयोगी सिपलाई नसमेट्ने भएकाले प्रस्तुतीकरणका आधारमा मात्र विद्यार्थीको बौद्धिक क्षमतालाई मापन गर्ने काम गर्छ । घोकेका वा कण्ठ गरेका विषयवस्तु लेखेकै कारण राम्रो उपलब्धि हासिल गरेको देखिन सक्ने भएकाले यस विधिलाई विद्यार्थीमैत्री र वैज्ञानिक मानिँदैन । सिकारुको तत्कालको परिस्थिति र मनोविज्ञानबाट नितान्त भिन्न रहने भएकाले यस प्रकारको मूल्याङ्कनमा सर्वाङ्गीण उपलब्धिको प्रतिविम्बन हुन सक्दैन । 

आधुनिक शिक्षण विधिमा मूल्याङ्कनलाई तेस्रो पक्षले सञ्चालन गर्ने फरक विषयका रूपमा नलिएर विद्यार्थी स्वयम्को सिकाइलाई अझ व्यवस्थित र सघन बनाउने उपकरणका रूपमा प्रयोग गर्न थालिएको छ । यस मूल्याङ्कनको उद्देश्य स्तरीकरणभन्दा मूल रूपमै सिकाइलाई सबलीकरण गर्नु रहेको छ । फरक विधिका लागि साधन निर्माण गर्नसमेत यसले सहयोग पु¥याउँछ । सिकाइ क्रियाकलाप र पाठ्यवस्तुमै आधारित भएर सञ्चालन गरिने हाजिरी जवाफ, विषयवस्तु केन्द्रित लेखाइ, छलफल र प्रस्तुति एवं अवधारणा मानचित्र र परियोजना कार्य जस्ता विद्यार्थीका रुचिकर र उनीहरूलाई प्रत्यक्ष संलग्न गराउने क्रियाकलाप यस मूल्याङ्कन पद्धतिमा पर्दछन् । 

आधुनिक शिक्षण सिकाइ क्रियाकलापको सबैभन्दा उन्नत विधिका रूपमा सिकाइका रूपमा मूल्याङ्कनलाई लिइएको छ । यसमा सिकारुलाई आफ्नो सिकाइ क्रियाकलापमा पूर्ण रूपमा उत्तरदायी बनाइन्छ । सिकारु स्वयम्लाई स्वमूल्याङ्कन गर्ने अवसर दिइन्छ । शिक्षकले विद्यार्थीलाई पूर्वनिर्धारित रुब्रिक्स प्रदान गरी क्रियाकलापका अन्त्यमा वा क्रियाकलापसँगै विद्यार्थीले आफ्ना उपलब्धि मूल्याङ्कन गर्न सक्छन् । यसमा सहपाठी सिकाइ, अन्तव्रिर्mया, आफ्नो सिकाइको पोर्टफोलियो निर्माण र परियोजना क्रियाकलापसमेत समावेश हुन्छन् । विद्यार्थीले निश्चित परीक्षा दिनुभन्दा सिक्दै आफ्नो स्तरको मूल्याङ्कन गर्दै उच्चस्तर प्राप्त गर्न पृष्ठपोषण प्राप्त गर्ने तथा आफ्ना सबल र दुर्बल पक्षको तत्काल बोध गर्ने भएकाले सिकारु सिकाइप्रति उत्तरदायी हुन्छन् भने शिक्षक सहजकर्ताका रूपमा रहन्छन् । यस प्रकारको सिकाइमा पूर्णतः शिक्षण विधि विद्यार्थीकेन्द्रित रहने गर्छ । 

आधुनिक शिक्षण विधिको अतिविशिष्ट यस प्रकारको मूल्याङ्कनले विद्यार्थीमा परीक्षाको भय र जसरी पनि परीक्षामा राम्रो गर्नु पर्छ भन्ने मानसिकता हटाउँछ भने उनीहरूलाई व्यवहारोपयोगी र जीवनोपयोगी सिप सिक्नका लागि अभिप्रेरित गर्छ ।

कक्षा ८ सम्म आन्तरिक र बाह्य मूल्याङ्कनको समान हिस्सा राखिँदा सिकाइमा प्रभावकारिता थपिनुको सट्टा परीक्षामा सबै पास हुने भन्ने मानसिकताले काम गरेको छ । आन्तरिक वा प्रयोगात्मक अङ्क भनेको विद्यार्थीको अनुहार हेरेर शिक्षकले दिने नम्बर हो भन्ने सोच नहटेसम्म र मूल्याङ्कनका वस्तुगत आधार तयार नगरेसम्म सिकाइमा योगदान पुग्ने अवस्था छैन । पर्याप्त तयारी र शिक्षकलाई तालिम नदिई लागु गरिएका कार्यक्रमबाट मूल्याङ्कन विधिको वास्तविक मर्मलाई व्यवहारमा कार्यान्वयन गर्न कठिनाइ सिर्जना गरेको छ । यसै सन्दर्भमा भर्खर कक्षा ४ र ५ मा परीक्षा सञ्चालन नगरी निरन्तर मूल्याङ्कनका माध्यमबाट विद्यार्थीका उपलब्धिको लेखाजोखा गर्ने भन्ने निर्देशन र त्यसै अनुरूपका मूल्याङ्कन सामग्री तयार पार्ने काम भएको छ । 

विद्यार्थीको मनोभावना बुझी सिकाइप्रति अभिप्रेरित गर्न सिकाइका लागि मूल्याङ्कन अर्थात् निरन्तर मूल्याङ्कन अति उपयोगी हुन्छ । कलिला बालबालिकालाई परीक्षाको भयबाट मुक्त राखी वास्तवमा पठनपाठन क्रियाकलापप्रति अभिप्रेरित गर्न सरकारले भर्खरै अगाडि सारेको सिकाइका रूपमा मूल्याङ्कन विधिलाई यसको मर्म नमर्ने गरी कार्यान्वयन गर्नु आवश्यक छ । शिक्षकलाई प्रवोधीकरण र तालिमको व्यवस्था नगरी निर्देशन र सामग्री निर्माणका माध्यमबाट मात्र यस प्रकारको मूल्याङ्कन पद्धतिलाई कार्यान्वयन गर्न खोजियो भने सफलता प्राप्त गर्न कठिन हुन्छ । कक्षा १–५ का सन्दर्भमा मात्र नभएर समग्र विद्यालय शिक्षालाई विद्यार्थीकेन्द्रित र निरन्तर मूल्याङ्कनमा अभ्यस्त बनाउन शिक्षक तालिम र पाठ्यक्रम प्रवोधीकरणका कार्यक्रम सञ्चालन गरिनु पर्छ ।

  

लेखक बाट थप