• ४ जेठ २०८३, सोमबार

५८ लाख मूल्य बराबरका अवैध सामान बरामद

blog

जिल्ला प्रहरी कार्यालय नवलपुरले बरामद गरेको अवैध सामान । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, जेठ ४ गते ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले ५८ लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ । देवचुली नगरपालिका–१६, रजहरमा बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ३८२६ नम्बरको ट्रकबाट भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिल–भरपाइ नभएका ७०० थान एयरबड, १ हजार ६८० थान मोबाइलमा लगाउने सिसा, २०५ थान स्मार्ट वाच, ६८ थान ह्यान्डसेट, ६५ जोर नाइक कम्पनीका जुत्ता, ३७४ जोर चप्पल तथा ७ हजार थान पानी नछिर्ने मोबाइल झोला बरामद गरिएको हो ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ । भन्सार छली गरी चोरी निकासी भइरहेको भन्ने विशेष सुराकीका आधारमा अवैध सामान बरामद गर्न सफल भएको प्रहरीको भनाइ छ ।

प्रहरीले ट्रकसहित चालक भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ३० वर्षीय सजेन्द्र मचामसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।