• १ जेठ २०८१, मङ्गलबार

फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, साउन ८ गते । फोहोर व्यवस्थापन गर्न प्रायः प्लास्टिकका सामग्री प्रयोग गरिन्छ। केही ठाउँमा यस्तो अभ्यास पनि भइरहेको छ। यसले वातावरण सुन्दर राख्नुका साथै मानिसलाई कामकाजी बनाउँदै आर्थिक उपार्जनमा टेवा पु-याइरहेको छ। त्यस्तैमध्ये एउटा काम हो, ‘डोको डस्टबिन’ ।

उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वले बजार क्षेत्रमा फोहोर सङ्कलनका लागि निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको छ। समुदायलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन निगालोबाट निर्मित ‘डोको डस्टबिन’ उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घ, रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले बताउनुभयो। 

पहिलो चरणमा जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोट बजारमा २० वटा ‘डोको डस्टबिन’ राखिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। यो काम अभियानकै रूपमा जिल्लाका सबै बजार क्षेत्रमा विस्तार गर्नेसमेत गौतमले बताउनुभयो। 

समुदायलाई स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्ने जानकारी गराउन निगालोको डस्टबिन प्रयोगमा ल्याएको उद्योग वाणिज्य सङ्घले जनाएको छ। प्लास्टिकजन्य वस्तु प्रयोग नगरी वातावरणमैत्री स्थानीयस्तरमै पाइने वस्तु प्रयोग गर्दा आर्थिक भार पनि कम भएको गौतमले सुनाउनुभयो। उहाँले भन्नुभयो, “महँगो मूल्यमा खर्चेर प्लास्टिकको डस्टबिन ल्यायो, केही समयमै फुटेर पटक पटक फेर्नु पर्छ। डोको प्रयोगले स्थानीयलाई गाउँघरमै पाइने यस्ता वस्तु प्रयोग गरी कसरी लाभ लिन सकिन्छ र वातावरणमैत्री क्रियाकलाप गर्न सिकाउन सहज भएको छ।” 

यसरी निगालोको डोको ‘डस्टबिन’ का रूपमा प्रयोग गर्दा प्लास्टिकजन्य वस्तुको प्रयोग हट्दै जाने जिल्लास्थित व्यापारीको भनाइ छ। साथै स्थानीय स्रोतसाधनको प्रयोगमा उद्योग वाणिज्य सङ्घले निरन्तर उत्प्रेरित गरिरहे स्थानीय सामग्री नै बजारीकरण हुँदै जाने व्यापारीले बताएका छन्।