• १५ मंसिर २०८१, शनिबार

'पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी'

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वाधार निर्माणमा स्पष्ट राष्ट्रिय दृष्टिकोण जरुरी रहेको बताउनुभएको छ । एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा ललितपुरमा आयोजित  ‘नेपालको भौतिक पूर्वाधार तथा यातायात क्षेत्र: वर्तमान अवस्था र भावी मार्गचित्र’ विषयक कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । 

योजनाबद्ध विकासका लागि योजना आयोगको भूमिका महत्त्वपूर्ण रहे पनि सो अनुसार भूमिका निर्वाह हुन नसकेको उहाँले चर्चा गर्नुभयो । आवधिक योजना बनाउने सन्दर्भमा नेपालको राजनीतिक तथा प्रशासनिक संरचना अस्थिर प्रकृतिको रहेको उहाँको भनाइ छ । 

राष्ट्रिय योजना आयोगमा बस्ने स्थायी संरचना सबभन्दा अस्थिर छ । सर्वप्रथम राष्ट्रिय योजना आयोगको संरचनामै परिवर्तन आवश्यक छ महासचिव पोखरेलले भन्नुभयो, "योजना आयोगको कर्मचारी स्थायी प्रकृतिको नभएसम्म आयोग प्रभावकारी हुनै सक्दैन । अहिलेको ढाँचाले ‘अर्गनाइजेशनल मेमोरी’ राख्नै सक्दैन ।"

दीर्घकालीन सोचको अभाव 

योजना बनाउँदा परसम्मको सोच राखेर योजना नबनाइएको उहाँले बताउनुभयो । कुनै जमानामा हामी त्रिभुवन राजपथबाट हिड्थ्यौं । त्यो बाटो बनाउँदा धेरै कठिनाइ भयो र यातायात प्रणालीमा पनि जटिलता देखियो । "आज कान्तिराजपथले हेटौडा–काठमाडौँ जोड्ने सहज सम्भावना देखायो, त्यो कुरा हाम्रा त्यतिबेलाका विज्ञहरूले देखेको भए, अध्ययन गरेको भए सायद हाम्रो विकास अलि अगाडि बढिसकेको हुन्थ्यो" उहाँले भन्नुभयो ।

त्रिभुवन राजपथले नेपालको विकासलाई दशकौँ पछाडि पारेको उहाँले बताउनुभयो । हामी कस्तो प्रकारको सोचबाट अगाडि बढ्दा रहेछौँ भन्ने कुरा, हाम्रा योजना कस्ता हुँदा रहेछन् भन्ने कुराको उदाहरण भएको उहाँले चर्चा गर्नुभयो ।

तमोर कोरिडोर मोडल आयोजना 

तमोर कोरिडोर निर्माणको योजना एउटा गजबको आयोजना भएको उहाँले चर्चा गर्नुभयो । यसले पाँचथर, ताप्लेजुङ र तेह्रथुम तीनवटा जिल्लाको आवागमनका लागि केही नभए पनि चार पाँच घण्टाको समय बचत गरेको उहाँले बताउनुभयो । राम्रो सोचका साथ काम गर्दा राम्रो आयोजना पनि बन्दा रहेछन् भन्ने एउटा उदाहरण तमोर भएको उहाँले चर्चा गर्नुभयो । 

योजना निर्माणमा परिपक्वताको खाँचो

पछिल्लो समय पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा गर्दा नेपालको आयोजना अत्यन्त अपरिपक्व रहेको अनुभूति भएको उहाँले बताउनुभयो । हाम्रो विज्ञताको प्रयोग नै भएको छैन । यसलाई रणनीतिक सडकको  सोचका आधारमा विकास गर्न सकेका छैनौँ उहाँले भन्नुभयो । 

पूर्व–पश्चिम राजमार्गमध्ये सबैभन्दा पछिल्लो समयमा बनाइएको मदन भण्डारी राजमार्ग भएको उहाँको भनाइ छ । त्यो लोकमार्ग झापादेखि चितवनसम्म ठीक ढङ्गले बनेको भए पनि भित्री मधेश आधारित भनिएको त्यो सडकलाई त्यसपछि अत्यन्त विकट महाभारत रेन्जमा लगिएको उहाँले बताउनुभयो । 

पाल्पादेखि महाभारत रेन्जको विकट पहाडमा चढेर सल्यान हुँदै सुर्खेतसम्म जाँदा मदन भण्डारी लोकमार्गको जे अवधारणा छ त्यो पूर्णरूपमा ध्वस्त पारिएको गुनासो उहाँले गर्नुभयो । त्यहाँ हाम्रो ज्ञानले काम काम गर्न नसकेको उहाँले बताउनुभयो ।  

नेपालको भौगोलिक अवस्थिति अनुरूप हामीले बनाउन खोजेको सडकको जुन रणनीतिक अवधारणा छ त्यसले पनि काम नगरेको उहाँले चर्चा गर्नुभयो । राजमार्गका नाममा त्यसलाई ग्रामीण सडकमा रूपान्तरण गरिएको उहाँले गुनासो गर्नुभयो ।  

तराई मधेशको हुलाकी राजमार्ग पनि जनसङ्ख्याको सघनताका आधारमा निर्माण हुन नसकेको उहाँले बताउनुभयो । यो सडक जनताले प्रयोग गर्दैआएको सडक हो । "जनताले प्रयोग गर्दै आएको भन्ने मान्यताका आधारमा हेर्दाखेरि सघन बसोबास भएको क्षेत्रमा बनेको सडक जनसङ्ख्याको जुन अवस्था छ त्यस आधारमा बनेन" उहाँले भन्नुभयो । 

सुलभ यातायातको विकास

पूर्व–पश्चिम राजमार्ग चारवटा बनेपछि सडक यातायातमा त्यसले हाम्रो आवश्यकता परिपूर्ति गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भविष्यका लागि पूर्वाधार विकासका सन्दर्भमा कुरा गर्दा पनि पर्यटक भित्र्याउन हिमालसम्म पुग्ने सहज बाटोको खाँचो उहाँले औँल्याउनुभयो । "हाम्रा हिमालका बेसक्याम्पसम्म पुग्नसक्ने यातायात पूर्वाधार के हुनसक्छ,  त्यसमार्फत हजारौँ होइन, लाखौँ मानिस हिमालनजिक पुगेर प्रकृतिप्रति गौरव गर्ने, स्वआनन्द लिने वातावरण र सुविधाबाट नै पर्यटनको विकास हुन्छ भन्ने मान्यताका आधारमा यातायात पूर्वाधारको विकल्प सोच्नुपर्छ" उहाँले भन्नुभयो । 

एक वर्षमा दशलाख पर्यटक पुग्दा केक काटेर रमाउने जुन ढाँचामा हामी छौँ त्यो अत्यन्त कमजोर मानसिकता हो । हाम्रो प्रकृतिका हिसाबले पूर्वाधार विकासले हाम्रो अर्थतन्त्रलाई कायापलट गर्न सक्छ भन्ने सोचबाट अगाडि बढ्नुपर्छ महासचिव पोखरेलले भन्नुभयो । मागका आधारमा योजना विकसित गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

हवाई मैदानको विकास र विस्तार 

भोलिका पूर्वाधारका सन्दर्भमा आजको आँखाबाट नसोचीकन तत्काल प्रतिक्रिया दिने प्रवृत्ति हाम्रो समाजमा ज्यादा रहेको महासचिव पोखरेलले बताउनुभयो । विज्ञहरू पनि त्यसबाट प्रभावित भएको उहाँले चर्चा गर्नुभयो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा त्यस्तै प्रतिक्रिया सुनिन्छ महासचिव पोखरेलले थप्नुभयो, "वास्तवमा हाम्रो आन्तरिक हवाई सेवाको आवश्यकताका लागि त्यस्ता विमानस्थल भविष्यमा एक दुई होइन दर्जनौँ आवश्यक पर्छ । त्यो तहको पूर्वाधार विराटनगरमा पनि बन्नुपर्छ, नेपालगन्ज, धनगढीमा पनि बन्नुपर्छ । सम्भव हुन्छ भने हिमाली क्षेत्रमा पनि डाँडा काटेर भए पनि त्यस प्रकारका विमानस्थल बनाउने सोच बनाउन सक्नुपर्छ ।" 

सस्तो विकल्प रेलवे

यातायातको सस्तो विकल्पको रूपमा रेल यातायातको विकास गर्नुपर्ने उहाँले बताउनुभयो । कतिपयले नेपालको सन्दर्भमा रेल यातायात ‘भायवल’ हुन्छ हुँदैन भन्ने कुरा गर्नुहुन्छ । म त के भन्छु नेपालको कच्चा पदार्थलाई बाहिर पठाउन र बाहिरको उत्पादन ल्याउनका लागि हामीलाई सबैभन्दा सस्तो यातायातको विकल्प रेल यातायात नै हो । 

चिनियाँहरूले तिब्बतसम्म रेल ल्याएर त्यहाँको विकास गरेको उहाँले उदाहरण दिनुभयो । उनीहरूले रेलको माध्यमबाट युरोपसम्मको व्यापारलाई समुद्रको यातायात प्रयोग गरेर हुने व्यापारभन्दा सस्तो बनाए । आज चिनियाँ रेल आफ्नो उत्पादन लिएर युरोप बजारसम्म पुग्न थालेको छ उहाँले भन्नुभयो । 

हामीकहाँ त्यस हिसाबले छलफल बहस हुन नसकेको महासचिव पोखरेलले बताउनुभयो । त्यस प्रकारको तथ्यका आधारमा राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने खालका काममा नेपालीले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।  

यातायात क्षेत्रका समस्याहरूका बारेमा धेरै छलफल भएको छ । समस्या थुप्रै छन् । तर, समस्या कस्तो प्रकृतिका छन् भन्दा  सहरी यातायातमा ठुला बसको प्रयोगको विषय उपभोक्ताको रुचिको विषयबाट बाहिरिँदै छ उहाँले थप्नुभयो, यात्रुहरू ठुला बसभन्दा साना यातायातका साधनमा बढी चढ्छन् । अब त गर्दा गर्दा ‘पठाओ’ लोकप्रिय भएको छ । यातायात प्रणालीका विषयमा सोच्नुपर्ने विषय के हो भने– सहरलाई चाहिएको छ ठुला बसमा आधारित यातायात प्रणाली, तर मान्छेको चासो र रुचि अत्यन्त सानो इकाइमा गयो । 

नेपालको कृषि निर्वाहमुखी भइसकेकाले व्यापार निर्वाहमुखी, सहर पनि निर्वाहमुखी बनाउन नहुने उहाँले सुझाउनुभयो । हाम्रो उद्योगधन्दा, व्यापार व्यवसाय, कलकारखाना सबैतिर ‘कर्पोरेट सिस्टम’ नै विकसित हुन सकिरहेको छैन । समाजलाई रूपान्तरण गर्ने हो भने स्वाभाविक रूपमा समाजलाई ‘कर्पोरेट सिस्टम’को दिशातर्फ रूपान्तरण गर्नु पर्दछ उहाँले भन्नुभयो । 

देश किन बनेन  

"नेपालको सबभन्दा जटिल प्रश्न पढेलेखेका मानिसहरू उद्यमी व्यवसायी बन्न नचाहने भएका कारण देश नबनेको उहाँले चर्चा गर्नुभयो । बौद्धिक समुदायबिचमा यो बहस हुनुपर्छ । देश बनाउने हो भने पढेलेखेका मान्छेहरू व्यवसायी, उद्यमी बन्न तयार हुनुपर्छ" उहाँले भन्नुभयो । 

आज के भएको छ भन्दा चाहे त्यो राजनीतिमा होस्  वा व्यापार व्यवसायमा, जोखिम मोल्ने काम दक्षता नभएका मानिसले गरेको छ । उक्त  जोखिम मोल्न तयार छ, पढेलेखेका मानिसले जोखिम मोल्न चाहन्न । जबसम्म सचेत र दक्ष पङ्तीले व्यावसायिक जोखिम मोल्न तयार हुँदैन तबसम्म देश बन्दैन उहाँले भन्नुभयो । निर्माण व्यवसायीसँग प्राविधिक जनशक्ति, उपकरणहरू नरहेको उहाँले चर्चा गर्नुभयो ।  

नेपालको विकासका सन्दर्भमा हाम्रा बनसम्बन्धी ऐन जमिन प्राप्तिको प्रक्रियामा र विकास आयोजना सञ्चालन गर्ने प्रक्रियामा अत्यन्त बाधक रहेको उहाँले चर्चा गर्नुभयो । बन ऐन राष्ट्रिय दृष्टिकोणका आधारमा बन्न नसकेको उहाँले बताउनुभयो । बन संरक्षणको दृष्टिकोणबाट मात्र बनेका छन् । हिजो हाम्रो बन विनाश भयो भन्ने चिन्ता थियो आज बनै बन भएको छ, बन संरक्षण चिन्ताको विषय होइन । पहाडबाट बस्ती सर्न थालेपछि करेसाबारी पनि बनमा परिणत हुन थालेका छन् उहाँले भन्नुभयो ।