• १२ साउन २०८१, शनिबार

सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका घोषणा

blog

सलिम मिया

बिजुवार, जेठ १ गते । सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाको सभा हलमा जिल्ला खोप समिति तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जी.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

सरुमारानीमा एक हजार ४ सय १० बालबालिकालाई खोप लगाइसकिएको छ । स्वास्थ्यकर्मीले बालबालिकाहरूलाई घरघरमै पुगेर खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पुरा हुन्छ ।

घोषणा कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुख र प्रत्येक वडाबाट एक/एक जना गरी ६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । साथै, १५ महिनाको उमेरभित्र सबै खोप समयमै लगाउने र स्वस्थ बच्चाको जम्मा १८ जना आमाहरूलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जी.सी.सहित सरुमारानी गाउँपालिकाका उपाध्यक्ष वसन्ता खड्का, सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डे लगायतले पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यसअघि जिल्लाको गौमुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकिएको छ ।