• २२ वैशाख २०८१, शनिबार

सात वर्ष बित्दा पनि अस्पताल भवन बनेन, टहरामा अस्पताल सञ्चालन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २९ गते । हिमाली जिल्ला म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण कार्य सात वर्ष बित्दा समेत पुरा हुन सकेको छैन । सरोकार पक्षको ताकेता नहुँदा र ठेकेदारको बदमासीका कारण सात वर्षदेखि भवन अलपत्र अवस्थामा छ । 

भवन निर्माण चाँडो नतिजा निकाल्नका लागि जिल्लाका सरोकारवालाहरूले निर्माण कम्पनीलाई ताकेता गरेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मालगायतको टोलीले भवन निर्माण कार्यको निरीक्षण गर्दै निर्माण कम्पनीलाई चाँडाे सक्न ताकेता गर्नुभएको हो ।

मन्त्री जुग्जालीले निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीलाई मोबाइलमा सम्पर्क गरेर जनशक्ति थप गर्न तथा निर्माण सामग्री व्यवस्थापन गरेर जति सक्यो चाँडो काम सक्न निर्देशन दिनुभएको थियो । ‘यसअघि भवन हो होइन खुट्टाउन गाह्रो थियो, अहिले भवन जस्तो भएछ,’ उहाँले थप्नुभयो ‘स्वास्थ्य सेवासँग जोडिएको भवनलाई जति सक्दो छिटो सम्पन्न गराउन कामको गति बढाउनुपर्ने देखियो ।’

यसै गरी मन्त्री जुगजालीले जनशक्ति अभाव हुँदा सेवा नै ठप्प गर्नुपर्ने सम्मको अवस्था हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनशक्ति व्यवस्थापन गरेर बेनी अस्पतालमा बिरामीको उपचार सेवा प्रभावित हुन नदिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव शर्मालाई निर्देशन दिनुभएको थियो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीका अनुसार २०७७ देखि रोकिएको निर्माण चैत देखि सुरु भए पनि अपेक्षाकृत प्रगति भएको छैन । नयाँ बनाउन पुरानो भवन भत्काइएकाले छ वर्षयता अस्पतालले अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर पङ्कज सिंहले बताउनुभयो । २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको हो । 

‘कार्यालयले हामीले गरेको कामको भुक्तानी नदिँदा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि जोशीले भन्नुभयो । रोकिएको भुक्तानी पाए काम गर्न, निर्माण सामग्री जुटाउन र मजदुरलाई ज्याला दिन सजिलो हुने थियो ।

मन्त्री जुग्जाली र सांसद भण्डारीले गत फागुनमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिवालय मार्फत मन्त्रालयका सचिव, विभागका महानिर्देशक र साझेदार महादेव खिम्तीका सञ्चालक समेत रहेका निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई फोन मार्फत ताकेता गराउनुभएको थियो । 

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण देखाएर चौथो पटक म्याद थप गर्ने तयारी भएको छ । 

नयाँ भवन निर्माण नहुँदा पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अन्जु थापाले भन्नुभयो । सघन उपचार कक्ष (आइसियु) र डायलाइसीस कक्ष पनि स्वास्थ्य कार्यालयको भवनमा स्थापना भएको छ । १५ शय्या क्षमताको म्याग्दी जिल्ला अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो ।