• १४ वैशाख २०८१, शुक्रबार

बेपत्ता व्यक्ति २४ वर्षपछि सम्पर्कमा

blog

भारतमा आफुले निर्माण गरेको घर र बगैंचामा रहनुभएका टीकाराम पुन । तस्बिर सौजन्य : रुद्र वली ।

सहदेव बस्नेत
जाजरकोट, जेठ १० गते ।
 जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति  २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता हुनुभएका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आउनु भएको हो ।

उहाँ हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकाशी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आउनुभएको छ । पुनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी हुनुहुन्छ ।

स्थानीय शिक्षक रुद्रबहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आउनु भएका पुन हाल घर बनाइ कृषि पेसामा संलग्न हुनुहुन्छ भने उहाँ एक्लो जीवन बिताइराख्नुभएको छ ।

आफूले भिडियो कलमार्फत सम्पर्क गरेको र हाल उहाँले उक्त स्थानमा स्याउको बगैँचा तयार गरी कृषि पेसामा जीवन बिताइरहनुभएको जानकारी दिएको शिक्षक वलीले दिनुभयो ।

उहाँका कान्छा छोरा कर्णबहादुर पुनले आफूहरूले एक्कासि बुबा जीवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताउनुभयो । अब छिट्टै बुबाको सम्पर्क ठेगानामा गएर बुबालाई भेटेर घर ल्याउने कान्छा छोरा कर्णले जानकारी दिनुभयो ।