• ३ साउन २०८१, बिहिबार

मानव बेचबिखनमा संलग्नहरू पक्राउ

blog

नाबालिका तथा किशोरीहरुलाई वेश्यावृत्ति गराएको आरोपमा पक्राउ परेकाहरू। तस्विर सौजन्य: जिप्रका काभ्रेपलाञ्चोक

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, जेठ ५ गते । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।

प्रहरीले नाबालिका तथा किशोरीलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा बिहीबार मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बनेपा नगरपालिका–१० स्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक लालमान तितुङ र चौरीदेउराली गाउँपालिका लामाटोल घर भई हाल तेमाल गेष्ट खाजा घरमा काम गर्ने श्याम लामा पक्राउ गरेको हो । 

बनेपा नगरपालिका–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालकले १३ देखि १७ वर्ष उमेर समूहका पाँच जना नाबालिका तथा किशोरीलाई वेश्यावृत्ति गराउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले होटलबाट उद्धार गरिएका नाबालिका तथा किशोरीहरूलाई संरक्षणका लागि माइती नेपालमा पठाइएको बताउनुभयो । वेश्यावृत्ति गराउने कार्यमा संलग्न होटल सञ्चालक लालमान तितुङ र होटलका कामदार श्याम लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम मुद्दा चलाई शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।