• ३ साउन २०८१, बिहिबार

एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम सुझावपत्र दिनुहुँदै ।

काठमाडौं, साउन २ गते  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।

एमाले उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङलाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्रालयमा भेटवार्ता गरी सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको सूचीसहित ३० बुँदे सुझाव बुझाएको हो । टोलीले बुझाएको सुझाव संचार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव रहेको छ ।

एमाले प्रचार विभागले बुझाएको सुझावमा राष्ट्रिय सभाको विधायन समितिमा रहेको मिडिया काउन्सिल विधेयक परिमार्जनसहित तत्काल पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने उल्लेख छ ।यसैगरी, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसंचार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट संचालित साना लगानीका स्वरोजगारमूलक संचारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै, सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेलगायत रहेका छन् ।

यस्तै, बजेटमा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिने उल्लेख भएअनुसार प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहमा आएको बदलाव र श्रमजीवी पत्रकारको बदलिएको पेशागत चुनौतीलाई दृष्टिगत गर्दै हामी श्रमजीवी पत्रकारको व्यावसायिक तथा पेशागत क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, समाचारमूलक अनलाइन माध्यमलाई वर्गीकरण गरी अन्य समाचार माध्यमसरह सुविधा र नियमनको व्यवस्था गर्ने, युट्युब लगायतका डिजिटल मिडियाले समाजमा पारेको प्रभाव र चुनौतीको दृष्टिगत गर्दै पत्रकार आचार संहिता र मूल्य मान्यता आत्मसात गराउनका लागि नीतिगत व्यवस्था गर्ने सुझाव पनि दिइएको छ ।

यसैगरी, श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन गर्ने, ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको वृद्धि गर्ने, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र समस्याको दीर्घकालीन समाधानको नीतिगत समन्वय गर्नेजस्ता सुझाव एमालेले दिएको छ । 

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरता कार्यान्वयनमा लाग्ने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रसँगको सहकार्यमा नीतिगत तथा अन्य सुधारको काम गर्ने जानकारी पनि दिनुभएको छ ।