• २ साउन २०८१, बुधबार

नयाँ आलुको मूल्य तेब्बरले वृद्धि

blog

बारीबाट खनेर ल्याएको स्थानीय आलु । तस्बिरः राजन रावत

राजन रावत

सिमकोट, साउन २ गते । किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य वृद्धि भएको हो । 

सिमकोट बजारमा उपभोक्ता उत्सव लामाले नयाँ आलु बजारमा आउन सुरु भएसँगै त्यसको मूल्यवृद्धि भएको बताउनुभयो । हाल नयाँ आलुको मूल्य प्रतिकेजी एकसय ५० रुपियाँ पर्नेगरेको उहाँले बताउनुभयो । जबकि पुरानो आलुको मूल्य प्रतिकेजी ४० रुपियाँ पर्ने गर्थ्याे । 

उहाँले पुरानो सकिने र नयाँ उत्पादन हुने समयको मौका छोपेर आलुको मूल्य वृद्धि भएको बताउनुभयो । यस वर्ष नयाँ आलुको उत्पादन पनि राम्रो नभएका कारण मागभन्दा कम आलु बजारमा आइरहेका कारण मूल्यवृद्धि भएको उहाँले बताउनुभयो । ब्यावसायिक आलुखेती गर्दै आउनुभएका किसान जानपुरी भण्डारीले गाउँबाट तीन घण्टा पैदलै बोकेर ल्याएका कारण पनि आलुको मूल्य वृद्धि भएको बताउनुभयो । 

उहाँले हालसम्म १० क्विन्टल आलु प्रतिकेजी एकसय ५० रुपियाँमा बिक्री गरेको र यो क्रम जारी रहेको बताउनुभयो । उहाँले हालसम्म सबैभन्दा बढी मूल्यमा आलु बिक्री भएको बताउँदै खडेरीका कारण आलु उत्पादन पनि कम भएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले नयाँ आलु भर्खर आउन सुरु भएका कारण पनि मूल्य बढी भएको बताउनुभयो । 

आलुको मूल्य वृद्धि भएका कारण किसान र तरकारी व्यापारीसँग छलफल गरिने उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय टमाटर पनि बजारमा आउन सुरु भएको छ । स्थानीय टमाटर प्रतिकेजी २५० रुपियाँ मूल्य निर्धारण गरिएको छ ।