• २ साउन २०८१, बुधबार

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ : नेता कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै

काठमाडौँ, साउन २ गते । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताउनुभयो । उहाँले महिलामा समाजलाई डोर्‍याउन सक्ने क्षमता हुने जिकिर गर्नुभयो । उहाँले महिलालाई हरेक कुरामा अघि सार्न जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले आफूले अहिलेसम्म चार पटक निर्वाचन जितेको र त्यो सबै महिलाको साथ र सहयोगकै कारण जितेको बताउनुभयो । उहाँले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनुभयो ।

‘‘महिलालाई कसरी आकर्षित गर्नुहुन्छ । महिलालाई जति आकर्षित गर्न सक्नुहुन्छ, त्यति हामी सफल हुन्छौँ । महिलालाई ब्याक बेन्च बनाएर हुँदैन, अगाडि सार्नुपर्छ, महिला प्रधानमन्त्री होस् भनेर । अब आउँदो दिनमा महिला प्रधानमन्त्री तपाईंहरुले पाउनुहुन्छ ।,’’ नेता कोइरालाले भन्नुभयो, ‘‘महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरुको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्‍याउन सक्छ । तर तपाईंहरु सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटिलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ ।’’

उहाँले महिलालाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गर्नुभयो ।