• २ साउन २०८१, बुधबार

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबिच भेट

blog

तस्बिर : रासस

काठमाडौँ, साउन २ गते । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबिच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानेपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्त्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्‍याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताउनुभयो ।  

एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो । रासस