• २ साउन २०८१, बुधबार

सेयर बजारले पार ग-यो २३ सयको विन्दु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २ गते । सेयर बजारले २३ सयको विन्दु नाघेको छ । मङ्गलबार ७० अङ्कले उकालो लाग्दा भने कारोबार रकम पनि नौ अर्बभन्दा माथि लागेको छ । नेप्से परिसूचक २३ सयको विन्दुबाट माथि लाग्दा कारोबार रकम, कारोबार सेयर कित्ता सङ्ख्या, कारोबार सङ्ख्यामा पनि निकै बढोत्तरी आएको छ । यसअघि नेप्से आइतबार ५२.९७ अङ्कले बढेर २२५७.५९ विन्दुमा पुगेको थियो । उक्त बढोत्तरी पनि २०७९ वैशाख २८ को २२५७.५९ को विन्दुपछिको सुधार थियो । 

मङ्गलबारको बजार बढेसँगै अल्पकालीन लगानीकर्ताको बिक्री गर्ने प्रवृत्ति बढ्दा कारोबार रकम नौ अर्बभन्दा माथि लागेको छ ।

मङ्गलबार नेप्से परिसूचक ७०.१८ अङ्कले उकालो लागेर २३१०.५९ को विन्दुमा पुग्यो भने सेन्सेटिभ इन्डेक्स पनि १२.३३ अङ्कले उकालो लागेर ४०९.५१ को विन्दुमा पुगेको छ । मङ्गलबार २१ करोड ७७ लाख ४९ हजार ११७ रुपियाँ बराबरको सेयर कारोबार भएर ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।

तेस्रो दिन लगानीकर्ता जलविद्युत्को सेयरमा तानिएका छन् । विकास बैङ्क, होटेल तथा लगानी उपसमूहमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । मङ्गलबार कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये म्युचुअल फन्डबाहेक बाँकी १२ उपसमूहको सूचक उत्साहजनक रूपमा बढेको छ ।