• २ साउन २०८१, बुधबार

गोरखापत्रका नायब कार्यकारी सम्पादक सरोज अधिकारीको बिदाइ

blog

गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारीलाई बिदाइ गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन २ गते। गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी सेवा निवृत्त हुनुभएको छ। गोरखापत्रमा ३६ वर्ष ७ महिना ५ दिन काम गर्नुभएका अधिकारीको बुधबार ५८ वर्षे अनिवार्य अवकाशपछि बिदाइ भएको हो।

नायब कार्यकारी सम्पादक अधिकारीको बिदाइ कार्यक्रममा बुधबार बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पत्रिकामा इमानका साथ बहादुर सिपाहीको रूपमा भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो। “गोरखापत्रमा यति लामो समय इमानका साथ काम गर्ने कमै त्यस्ता कर्मचारी भेटिन्छन्। त्यसमा सरोज अधिकारी पर्नुहुन्छ। सबै सहकर्मीसँग उत्तिकै हार्दिकताका साथ काम गरेर बिदाइ हुनुभयो। प्राविधिक रूपमा बिदाइ भए पनि गोरखापत्रको सधैँ सदस्यको रूपमा सम्झिने छ”, उहाँले भन्नुभयो। अध्यक्ष सुवेदीले गोरखापत्रका पूर्व सम्पादक, अध्यक्ष, महाप्रबन्धक कर्मचारी अवकाश भए पनि पुनः संस्थामा आउने वातावरण बनाउने उल्लेख गर्नुभयो। 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एउटै व्यक्तिले ३६ वर्षसम्म काम गर्नुलाई गौरवको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा गोरखापत्रमा काम गरेका सबै पूर्व सहकर्मी आउने वातावरण बनाइने उल्लेख गर्नुभयो। 


गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले गोरखापत्रले ऊर्जाशील सकारात्मक सोच भएका असल पत्रकारलाई बिदाइ गर्दा दुःख लागेको बताउनुभयो। 

गोरखापत्र राष्ट्रिय दैनिकको निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले सरोज अधिकारीले दिल दिमागदेखि नै निरन्तर पत्रिकामा काम गरेर नयाँ पुस्तालाई समेत ऊर्जाशील बनाउने काम गरेको उल्लेख गर्नुभयो। उहाँ प्राविधिक रूपमा बिदा भए पनि गोरखापत्रलाई दिने सल्लाह सुझाव सधैँ मननीय हुने भट्टराईले बताउनुभयो। 

दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले उहाँ प्राविधिक रूपमा बिदाइ भए पनि संस्थानले एउटा विज्ञको रूपमा सधैँ सम्झिरहने बताउनुभयो।

गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले ३६ वर्षदेखि पत्रकारिता क्षेत्रमा उत्तिकै ऊर्जाशील व्यक्तिको रूपमा अधिकारीलाई पाएको बताउनुभयो।   

गोरखापत्र सञ्चालक समितिका सदस्य एवं अर्थ विभाग प्रमुख राजकुमार महतले असल पत्रकारको रूपमा सधैँ सम्झिरहने बताउनुभयो। 

सेवा निवृत्त हुनुभएका अधिकारीले आफू सेवाबाट अवकाश भए पनि स्वयम् सेवकको रूपमा संस्थालाई सहयोग गर्न तयार रहेको बताउनुभयो। “मैले जीवनको यति लामो समय गोरखापत्रमा काम गरे आवश्यक परेछ भने स्वयंसेवकको रूपमा काम गर्न तयार छु। गोरखापत्रलाई असाध्यै माया गर्ने छु। बाँचुन्जेल सम्झिने छु”, उहाँले भन्नुभयो।

नायब कार्यकारी सम्पादक अधिकारीको सम्पादन विभागले भने बुधबार नै बिदाइ गरेको थियो