• २ साउन २०८१, बुधबार

सत्र वर्षपछि सर्लाही ‘मन्त्रीविहीन’

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन २ गते  । २०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी सात जना सङ्घीय सांसद हुनुहुन्छ । 

क्षेत्र नं. १ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी, क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव, क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का हरिप्रसाद उप्रेती र क्षेत्र नं. ४ बाट स्वतन्त्र हैसियतका डा. अमरेशकुमार सिंह प्रत्यक्ष निर्वाचित सांसद हुनुुहुन्छ । त्यस्तै नेपाली कांग्रेसबाट चन्दा चौधरी, माओवादी केन्द्रबाट मीना यादव र नेकपा (एमाले) बाट सरस्वती सुब्बासहित तीन जना समानुपातिक सांसद हुनुहुन्छ । 

यो पटकको मन्त्रीपरिषद्मा जिल्लाका सात जना सांसदमध्ये कोही पनि मन्त्रीमा नियुक्त नभएको र जिल्ला १७ वर्षपछि ‘मन्त्रीविहीन’ बन्न पुगेको विषय निकै चर्चामा छ । प्रायः मन्त्रीमा दोहोरिरहने र अहिलेसम्म आठ पटक मन्त्री भइसक्नुभएका महिन्द्रराय यादव यो पटक भने मन्त्रीको ‘लिस्ट’ मा पर्नुभएन । 

राजनीतिक वृत्तका चर्चित अनुहारका रूपमा रहनुभएका राजेन्द्र महतोलाई २०७९ को निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट पराजित गरेपछि यादव यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एक पटक कृषि तथा पशुपन्छी विकासमन्त्री, एक पटक महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र एक पटक खानेपानीमन्त्री गरी तीन पटक मन्त्री बनिसक्नुभएको छ । सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित हरिप्रसाद उप्रेती पनि प्रचण्ड नेतृत्वको सरकारमा दुई पटक रक्षामन्त्री बन्नुभयो । 

यसरी प्रत्येक सरकारमा मन्त्री भइरहने सर्लाहीका सांसद यो पटक मन्त्री बन्ने अवसरबाट वञ्चित भएका हुन् । नागरिक समाजका अगुवा रजनीकान्त झाले संविधान सभाको निर्वाचनपछि सबै जसो सरकारमा मन्त्री पाउने सर्लाहीले विकासका काममा भने फड्को मार्न नसकेको बताउनुभयो । 

उहाँले लगातार १७ वर्षसम्म प्रत्येक सरकारमा जिल्लाका सांसद मन्त्री हुँदा पनि जिल्लाका नागरिकको जीवनस्तर उकास्ने किसिमले देखिने काम नै नभएको बताउनुभयो । “यो पटक जिल्लाबाट कोही मन्त्री भएनन् तर २०६५ सालदेखि हरेक सरकारमा जिल्लाले मन्त्री पाइरहेकै थियो,” झाले भन्नुभयो, “जिल्लाको अवस्थामा उस्तै रहेकाले हामी नागरिकलाई त जिल्लाले मन्त्री पायो पाएन भन्ने कुरासँग कुनै मतलब छैन ।” 

२०७० सालमा सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शम्भुलाल श्रेष्ठ ऊर्जा राज्यमन्त्री हुँदा नवलपुरमा ठुलो आयोजनाका रूपमा विद्युत् सबस्टेसन निर्माण गर्न सफल भए पनि त्यसबाहेक जिल्लाका जति सांसद मन्त्री भए पनि देखिने गरी कुनै काम नै नभएको नागरिक समाजका अगुवा झाको भनाइ छ । सर्लाहीबाट राजेन्द्र महतो र महिन्द्रराय यादव धेरै पटक मन्त्री बन्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्वअध्यक्ष शङ्कर श्रेष्ठले १७ वर्षमा जिल्लाबाट १७ जनाभन्दा बढी सङ्घीयमन्त्री बनिसक्दा पनि जिल्लाका लागि उल्लेख्य काम गर्न नसकेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “मन्त्री भइरहँदा उहाँहरूलाई व्यक्तिगत लाभ भयो होला तर जनताको दैनिकी सहज बनाउने गरी खास केही काम गर्नुभएन । साँच्चै भन्दा जनतामा नैराश्य र दिग्दारी मात्रै छ ।” 

उहाँले जनजीविका सहज बनाउने काममा निर्वाचित सांसद गम्भीर नबन्दा नागरिकमा निराशा बढेको बताउनुभएको छ । सङ्घ तथा प्रदेश सरकारमा सर्लाही जिल्लाको भागमा लगातार जसो मन्त्री परिरहने तर ती मन्त्रीले नागरिकलाई लाभ हुने गरी काम नगर्ने परिपाटी दुःखद रहेको श्रेष्ठको भनाइ छ ।