• १४ वैशाख २०८१, शुक्रबार

सङ्घीय निजामती ऐन छिट्टै संसदमा पेस गर्छौँ : मन्त्री शर्मा

blog

राष्ट्रिय सभा बैठकमा सहभागी हुनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : रासस

काठमाडौं, वैशाख ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराउनुभयो । मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘सङ्घीय निजामती सेवा ऐन सरकारवालाहरूसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छ । यो ऐनको बारेमा माननीयजीहरूले जुन कुरा उठाउनु भएको छ, त्यो सरकारको पनि प्राथमिकताको विषय हो । र सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्‍याएको छ । माननीयजीहरूको बीचमा भन्दा अहिले यो कानुन मन्त्रालयका पुगेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट त्यहाँ पुगेको हो । र, कानुन मन्त्रालयमा यो अन्तिम चरणमा छ । यसलाई मन्त्रिपरिषद् बैठकबाट छिटोभन्दा छिटो यो ऐनलाई संसदमा प्रस्तुत गर्ने तयारीमा छौँ हामी ।’’

उहाँले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्वीकार गर्नुहुँदै अब बन्ने सङ्घीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री शर्माले कर्मचारीहरूको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरू छिटो छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गर्नु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘कर्मचारीको छिटो छिटो सरुवा भन्ने कुरा पनि संसदमा उठेको छ । विगतदेखि कर्मचारीहरूको सरुवा ठीक ढङ्गले हुन नसक्दा यी विषय सङ्घीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो । हामीले सो ऐन पास गर्दैगर्दा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो ऐन बनाउन सो विषयलाई यो सम्मानित सदनले विशेष ध्यान दिनेछ भन्ने कुरा पनि राख्न चाहन्छु ।’’