• १५ वैशाख २०८१, शनिबार

नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट

blog

नेसनल चेस च्याम्पियनसिप बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशख ३ गते । नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको आयोजनामा मंगलबारदेखि नेसनल चेस च्याम्पियनसिप हुने भएको छ ।

वैशाख १० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुष र महिलामा १०/१० जना खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष विदुर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा हुने च्याम्पियनसिपमा नेसनल ‘बी’ च्याम्पियनसिपबाट छनाैट भएका आठ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागिता रहने छ ।

खुलातर्फ उच्चस्तरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ दहाल अस्ट्रेलिया भएका कारण नखेल्ने महासङ्घले जनाएको छ । च्याम्पियनसिपका विजेता क्यान्डिडेटमास्टर पुरुषोत्तम चौलागाई र वुमन्स नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी हुनुहुन्छ । 

च्याम्पियनसिपको उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोत्तम चौलागाई सहित नेसनल ‘बी’ बाट छानिनुभएका फिडेमास्टर रुपेश जैसवाल, फिडेमास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, पूर्व विजेता सुरवीर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौंका पुरुषोत्तम सिलवाल र दोलखाका राजीव कार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ । वैकल्पिक खेलाडीमा ललितपुरका राजन पुरी र सजिन महर्जन हुनुहुन्छ । 

महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी सहित नेसनल ‘बी’ बाट छनोट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाईँ, मोरङका खुश्बु थापा, शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौंका विनीता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङबच प्रतिस्पर्धा हुनेछ । 

महिलातर्फ वैकल्पिक खेलाडीमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशीला गुरुङ हुनुहुन्छ । च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ तारिखसम्म हुने एसियन कन्टिनेन्टल खेल्न पाउनेछन् ।

विजेताले सन् २०२४ मा हंगेरीमा आयोजना हुने ४५औँ चेस ओलम्पियाडमा समेत भाग लिन पाउनेछ ।