• ११ मंसिर २०८१, मङ्गलबार

सिमकार्ड दुरुपयोगका असर

blog

केही समयअघि कपनकी एक महिला आफ्नो बैङ्क खाताको रकम हराएको भन्दै नेपाल प्रहरीमा निवेदन लिएर गएकी थिइन् । घटना अध्ययन गर्दै जाँदा उनले चलाउने सिमकार्ड श्रीमान्का नाममा भएकाले उनले नै निकालेर आफ्नो खाताको रकम चोरी गरेको देखियो । खास गरी पछिलो समय दम्पतीको सम्बन्ध बिग्रिएको र पत्नीले पतिका नामको सिमकार्ड प्रयोग गर्दा यो घटना भएको देखिन्छ । 

यस्तै भक्तपुरका एक व्यवसायीको आफ्नो बैङ्क खाताबाट रकम चोरी भएको भन्दै उजुरी प¥यो । अनुसन्धान गर्दा ती व्यवसायीको मोबाइलमा कुनै ओटिपी (वन टाइम पासवर्ड), पिन (प्रसनल आइडेन्टिफिकेसन नम्बर) कोड र पासवर्ड आएको देखिएन । केवल केही मिसकल मात्र देखियो तर पैसा उनको खाताबाट झिकिएको थियो । यसरी ओटिपी वा पिन कोडसम्बन्धी ग्राहकलाई नगई मिसकल आएका भरमा बैङ्क खाताबाट रकम चोरी गर्न साइबर अपराधीले ‘सिम स्वाप फर्ड’ प्रविधि प्रयोग गरेको देखियो । यी दुवै प्रतिनिधि घटनाको मूल कारण सिमकार्डको दुरुपयोग हो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा मोबाइल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ७८ लाख ३३ हजार ८९ छ भने मोबाइल बैङ्किङमार्फत कुल दुई खर्ब ९१ अर्ब ९५ करोडबराबरको कारोबार भएको देखिन्छ । पछिल्लो समय आफूलाई आवश्यक वस्तुको किनबेच, इन्टरनेट, टेलिफोन, मोबाइल, विद्युत्, खानेपानी, सेयर खरिद, बिमालगायतको बिल भुक्तानी, यातायात, चलचित्र र अन्य मनोरञ्जनको टिकट खरिद जस्ता सम्पूर्ण कार्य मोबाइल बैङ्किङमार्फत हुने गरेको छ । 

कनेक्ट आइपिएस, मोबाइल बैङ्किङ, क्युआर कोर्ड, इसेवा र नमस्ते–पे जस्ता वालेट सेवाको प्रयोग बढ्दै जाँदा सिमकार्ड दुरुपयोगबाट हुन सक्ने अपराधको क्षेत्र र मात्रा पनि बढ्दै गएको छ । सामाजिक सञ्जाल, इमेल र अन्य इन्टरनेटमार्फत पठाइने ओटिपी कोड, पासवर्ड र पिनकोड मोबाइलमा आउने हुँदा सिम र मोबाइललाई सुरक्षित राख्नु आवश्यक छ । राज्यले डिजिटल नेपालको अवधारणा र कारोबारलाई प्राथमिकता दिँदै गर्दा नागरिकमाथि जालसाझी, ठगी र अन्य जघन्य अपराधका घटना नहोऊन् भनेर नागरिकलाई बचाउन प्रयोगसँगै साक्षरता र सचेतना अभिवृद्धि गर्न आवश्यक छ । 

साइबर अपराधीले विभिन्न माध्यमबाट व्यक्तिका डाटा (तथ्याङ्क) प्राप्त गर्ने गर्छन् । कैयौँ अवस्थामा आफ्ना ग्राहकको डाटा कम्पनी र कम्पनीमा काम गर्ने कर्मचारीले नै पैसाको प्रलोभनमा बिक्री गर्ने गर्छन् । जसका आधारमा लक्षित व्यक्तिका नागरिकता, राहदानी, इजाजतपत्र तथा अन्य बैङ्किङ क्षेत्रमा समेत पहुँच पु¥याउन सक्छन् । त्यसलाई लिएर मोबाइल सेवा प्रदायक कम्पनीमा गई नक्कली सिमकार्ड निकाल्ने गरेको देखिन्छ । यसरी सिमकार्ड निकाल्दा पुरानो बन्द हुने र नयाँ साइबर अपराधीका हातमा पुग्दा माथि उल्लिखित सम्पूर्ण क्षेत्रको पहुँच असम्बन्धित व्यक्तिसँग रहने गर्छ । 

खास गरी ‘सिम स्वाप फर्ड’ मा साइबर अपराधीले पुरानो प्रयोग गरिरहेका व्यक्तिलाई सिमकार्ड नक्कली भएको थाहा नहोस् भनेर एक विन्डोको प्रयोग गरी नयाँ निकालिएको डुब्लिकेट सिमकार्डमा पिन, ओटिपी र पासवर्ड जस्ता सन्देश एसएमएस (सर्ट म्यासेज सर्भिस) मार्फत आउँदै गर्दा पुरानो सिमकार्डमा मिसकल देखाउने प्रविधिको समेत प्रयोग गरेका हुन्छन् । यसले गर्दा सम्बन्धित सिमकार्ड धनीलाई थाहा हुँदैन कि आफ्नो सिमकार्ड बन्द छ वा डुब्लिकेसन भइसकेको छ । कैयौँ घटनामा पीडितसँग बुझ्दा कुनै पनि पिन, ओटिपी र पासवर्ड आफूलाई नआएको, मात्र मिसकल आएको बताउने गरेका छन् तर खाता भने शून्य हुने गरेको छ । हामीले बुझ्नुपर्ने के हो भने मोबाइलमा बारम्बार मिसकल आएमा त्यो ‘सिम स्वाप फर्ड’ हुन सक्छ । 

पीडितलाई आउने प्रत्येक मिसकलसँगै अपराधीसँग भएको डुब्लिकेट सिमकार्डमा एसएमएसमार्फत पिन, ओटिपी र पासवर्ड गइरहेको हुन्छ, जसका कारण एक मिसकलमा सम्पूर्ण बैङ्क खाता शून्य हुन सक्छ । माथि उल्लिखित भक्तपुरका घटनामा पनि अपराधीले ‘सिम स्वाप फर्ड’ मार्फत व्यवसायीको रकम चोरी गरेको देखिन्छ । यसरी बारम्बार मिसकल आएमा सिमकार्ड प्रयोगकर्ता समयमै सचेत भएर सम्बन्धित सिमकार्ड वितरक कम्पनीमा आफ्ना नामको सिमकार्ड ‘रिप्लेस’ जारी भएको छ/छैन, बुझ्नु पर्छ । सिमकार्ड ‘रिप्लेस’ भएको देखिएमा सिमकार्ड किन्दा सँगै आएको सेक्युरिटी कोड प्रयोग गरी वा कम्पनीलाई भनी सिमकार्ड बन्द गर्न लगाउनु पर्छ; जसले गर्दा अपराधीले सिमकार्डको दुरुपयोग गरेर थप अपराध गर्न पाउँदैनन् ।

मोबाइल मर्मत केन्द्रहरूमा मर्मतका लागि मोबाइल छाड्दा हार्डवेयर प्रयोग गरेर दुई मोबाइल सेटमा एउटै नम्बर चल्ने गरी विगतमा ‘सिम स्वाप फर्ड’ गर्ने गरेको पाइन्छ । पछिल्लो समय भर्चुअल प्रविधिको ई–सिम प्रयोगमा आएसँगै प्रयोगकर्ताले पहिलाको जस्तो कुनै भौतिक सिमकार्ड नपाउने हुँदा सुरक्षित रूपमा क्युआरकोड नराखी जथाभावी राख्नाले अपराधीका हातमा क्युआरकोडमार्फत सिमकार्ड पुगी सिम फर्ड हुने गरेको छ । 

सिमकार्ड दुरुपयोगबाट हुने अपराध

सिमकार्डको दुरुपयोग हुँदा त्यस्ता सिमकार्डमार्फत पैसा, पिन कोड, ओटिपी कोड, पासवर्ड चोरी, धम्की, गाली, बेइज्जति, हत्या, अन्य व्यक्तिका सामाजिक सञ्जाल तथा आर्थिक कारोबार नियन्त्रण, गोप्य सूचना थाहा पाउने र त्यसैलाई प्रयोग गरी ब्ल्याकमेलिङ गर्नेलगायतका गम्भीर प्रकृतिको फौजदारी अपराध हुने गरेको छ ।

सिम स्वाप फर्डका कारण

  • साइबर अपराधीलाई सिमकार्ड वितरक कम्पनीका कर्मचारीले जानाजान पैसाको लोभमा परेर डुब्लिकेट सिमकार्ड दिनाले ‘सिम स्वाप फर्ड’ हुने गरेको छ । 
  • साइबर अपराधीले विभिन्न कम्पनीबाट डाटा किनेर वा चोरेर प्राप्त गरेको कागजपत्रका आधारमा सिमकार्ड वितरकलाई झुक्याएर, डुब्लिकेट सिमकार्ड निकाल्नाले ‘सिम स्वाप फर्ड’ हुने गरेको छ ।
  • मोबाइल मर्मत केन्द्रमा मर्मतका लागि मोबाइल छाड्दा हार्डवेयर थपेर दुई वटा मोबाइल सेटमा एउटै नम्बर चल्ने प्रविधिको प्रयोग गर्नले ‘सिम स्वाप फर्ड’ हुन सक्छ ।
  • विभिन्न आर्थिक प्रलोभन, चोरी, ठगी, ओटिपी, पिनकोड, पासवर्डलगायतका सूचना थाहा पाउन र अरूको विद्युतीय उपकरण नियन्त्रणमा राख्न ‘सिम स्वाप फर्ड’ हुने गरेको छ ।

सावधानीका उपाय

  • आफ्ना नामको मात्रै सिमकार्ड प्रयोग गर्ने गरौँ । अरूका नामको सिमकार्ड प्रयोग गर्दा जुनसुकै समयमा तपाईंले प्रयोग गरिरहेको सिमकार्ड अर्काले निकाल्न सक्छन् ।
  • आफ्ना नामको सिमकार्ड अरूलाई प्रयोग गर्न नदिनुहोस् । उक्त सिमकार्ड प्रयोग गरी कुनै अपराध भएमा स्वयं तपाईंले समेत दुःख पाउनु हुने छ, कैयौँ अवस्थामा सजायसमेत भोग्नुपर्ने हुन सक्छ । यसैले आफ्नो कागजपत्र प्रयोग गरेर कहिल्यै अरूलाई सिमकार्ड झिकिदिने नगरौं ।
  • अरूका नाममा रहेको सिमकार्ड आफूले चलाइरहेको भएमा वा आफ्ना नामको सिमकार्ड अर्काले चलाइहेको भएमा तत्काल सम्बन्धित व्यक्तिका नाममा नामसारी गरेर सिमकार्ड चलाउने गरौँ, सिमकार्डका कारण भविष्यमा आउन सक्ने झमेला र झन्झटबाट सुरक्षित बनौँ ।
  • मोबाइल मर्मत केन्द्रहरूमा मोबाइल मर्मत गराउँदा हार्डवेयर जोडेर सिम स्वाप गर्ने गरेका घटना समय समयमा हुने गरेका छन् । यसैले विश्वासिलो र भरोसायोग्य मर्मत केन्द्रमा मात्रै मोबाइल मर्मत गराऔँ, सिम स्वाप हुनबाट बचौँ ।
  • आफूले चलाइरहेको सिमकार्ड नचलेमा तत्काल सम्बन्धित सिमकार्ड बिक्रेता कम्पनीमा सम्पर्क गरी कारण बुझौँ । कुनै फर्ड भएको जानकारी पाइएमा सिमकार्ड किन्दा प्राप्त सेक्युरिटी कोड प्रयोग गरेर सिमकार्ड बन्द गरौँ ।
  • मोबाइल सेट वा सिमकार्ड हराएमा आफूसँग सेक्युरिटी कोड छ भने तत्काल बन्द गरौँ । अन्यथा नजिकको सिमकार्ड बिक्रेता कम्पनीको ग्राहक सेवा केन्द्रमा गई बन्द गर्न लगाऔँ ।
  • ई–सिमको क्युआर कोड जथाभावी नफालौँ /नराखौँ, जसले गर्दा साइबर अपराधीका हातमा आफ्नो सिमकार्ड नपुगोस् र कुनै समस्या झेल्न नपरोस् भनी सजग बनौँ । ई–सिममा भौतिक कार्ड नहुने र क्युआर कोर्डले नै सिमको काम गर्ने भएकाले यसलाई सुरक्षित र गोप्य ढङ्गले राखौँ, सामाजिक सञ्जालमा राख्ने नगरौँ । कसैलाई पनि क्युआर कोड नदिऔँ । 
  • मोबाइल सेट हराएमा वा मोबाइलमा कुनै शङ्कास्पद गतिविधि (अत्यधिक विज्ञापन आइरहेमा, बारम्बार मिसकल आइरहेमा, अस्वाभाविक मोबाइल तातिरहेमा, आफूले नचलाएका साइट र एपहरू चलेको देखिएमा आदि) भएको भान हुन आएमा तत्काल आफूले वित्तीय कारोबार गर्ने गरेका बैङ्क, ईसेवा, नमस्ते–पे र कनेक्ट आइपिएस जस्ता डिजिटल कारोबार गर्ने संस्थामा खबर गरी आफ्ना खाताबाट डेबिट आदेश रोक्न लगाउनुहोस् । यसले गर्दा आर्थिक क्षति हुनबाट बच्न सक्नुहुने छ । सामाजिक सञ्जाल, इमेल, मेरो सेयर, टिएमएस र डिम्याट खातालगायत अन्य महìवपूर्ण डिजिटल क्षेत्रको पासवर्ड तत्काल परिवर्तन गर्ने गरौँ । यस्ता अवस्थामा नेपाल प्रहरीमा समेत उजुरी गर्न नभुलौँ, कथंकदाचित हराएको मोबाइल आपराधिक कार्यमा प्रयोग हुन गएमा प्रहरीलाई पूर्वजानकारी गरिएका कारण उक्त मोबाइलबाट कुनै अपराध भएमा दण्डसजाय भोग्नुपर्ने अवस्थाबाट बच्न सकिन्छ ।
  • आफ्नो नागरिकता, पासवर्ड र लाइसेन्स जस्ता सिमकार्ड निकाल्न प्रयोग हुने कागजपत्र तथा प्रतिलिपि जथाभावी प्रयोग नगरौँ/नराखौँ । कसैले दुरुपयोग गरी सिमकार्ड निकालेर आपराधिक कार्य गर्न सक्ने भएकाले सधैँ सुरक्षित ढङ्गबाट प्रयोग गर्ने गरौँ  ।
  • बेनामे वा अपरिचित व्यक्तिका नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनुभएको छ भने मोबाइल कम्पनीको प्रक्रिया पूरा गरी आफ्नो स्वामित्वमा सिमकार्ड ल्याई प्रयोग गर्ने गरौँ । 
  • आफ्नो मोबाइल अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिऔँ । केही मिनेट हाम्रो मोबाइल साइबर अपराधीका हातमा पर्न गएमा कुनै लिङ्क डाउनलोड गरिदिएका भरमा आफ्नो मोबाइल तेस्रो पक्षका नियन्त्रणमा जान सक्ने भएकाले सधैँ मोबाइल सुरक्षित राखौँ । अपरिचित व्यक्तिलाई दिनै परेमा आफूले प्रत्यक्ष निगरानी गरिराखौँ ।

यसरी समाजमा भएका सिमकार्ड दुरुपयोगले निम्त्याउने समस्यालाई नजिकबाट नियाल्दा सम्बन्ध बिगँरदा आफ्नै परिवारका सदस्यले समेत सिमकार्डमार्फत ठगी गरेको भेटिन्छ । साइबर अपराधी वा अन्य जोसुकै व्यक्तिले जुनसुकै समयमा मौका मिल्नासाथ अपराध गर्न सक्ने भएकाले सिमकार्ड दुरुपयोबाट बच्न सही तरिकाले मोबाइल प्रयोग गर्न सिक्नु आवश्यक छ । राज्य, मोबाइल सेवा प्रदायक, साइबर अपराध न्यूनीकरणका लागि काम गर्ने जिम्मेवारी बोकेका सम्बन्धित निकाय र सरोकारवाला पक्षले मोबाइल प्रयोगकर्तामा थप साक्षरता कार्यक्रम चलाउनुपर्ने देखिन्छ । नागरिकले पनि आफू सजग हुँदै सुरक्षित ढङ्गबाट सिमकार्ड प्रयोग गर्ने बानी बसाल्नु अनिवार्य छ । 

   

Author

अच्युतकुमार ओझा