• २६ वैशाख २०८१, बुधबार

पचास परिवारलाई निःशुल्क घर

blog

गाईघाट समाचारदाता

गाईघाट, चैत १३ गते  । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा पहिलो पटक ५० परिवारलाई सुरक्षित आवासगृह निर्माण गर्न सुरु गरिएको छ। नगरका अति विपन्न परिवारलाई लक्षित गरी सुरक्षित आवास कार्यक्रमअन्तर्गत निःशुल्क बाँसको घर निर्माण सुरु गरिएको हो। 

नगर क्षेत्रका भूमिहीन, सीमान्तकृत, अति विपन्न, दलित तथा निम्न आयस्रोत भएका परिवारलाई लक्षित गरी घर निर्माण गर्न लागिएको हो। ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेसनल र त्रियुगा नगरपालिकाको संयुक्त सहयोगमा साझेदार संस्था वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले त्रियुगा नगरपालिकाका विभिन्न वडामा त्यस किसिमको ‘सुरक्षित आवासगृह’ निर्माण सुरु गरेको हो। 

त्रियुगा नगरपालिका–४, बगाहामा शिवशक्ति टोल सुरक्षित आवास परियोजना उपभोक्ता समिति गठन गरी २० वटा घर निर्माण सुरु गरेको हुरेन्डेकका अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो। त्यस्ता ५० वटा घर निर्माण गर्न नगरपालिकाबाट एक करोड, साझेदार संस्थाबाट एक करोड र स्थानीय उपभोक्ताबाट ६९ लाख रुपियाँ खर्च गरिनेछ। 

त्यसैगरी वडा नं. ३ को चाँपमा १८ र बाँकी १२ वटा अन्य वडामा तत्काल बेसलाइन सर्भे गरी निर्माण सुरु गरिने उहाँले बताउनुभयो। अध्यक्ष थापाले भन्नुभयो, “बगाहामा गरिएको बेसलाइन सर्भेले २० ठाउँ उपयुक्त देखाएको छ। योसँगै अन्य वडामा हेर्छौं, जहाँ नभई नहुने अवस्था छ, त्यस्तो ठाउँमा नगरपालिकाको समन्वयमा निर्माण अघि बढाउँछौँ।”

भान्छाकोठासहित दुईवटा कोठा तयार हुने घरको लागत जनश्रमदानसहित पाँच लाख ३८ हजार हुने भन्दै अध्यक्ष थापाले भन्नुभयो, “त्यसमध्ये दुई/दुई लाख संस्था र नगरपालिकाले गरी चार लाख बेहोर्ने र बाँकी एक लाख ३८ हजार श्रमदानस्वरूप उपभोक्ता समिति र सम्बन्धित घरधनीको सहभागिताबाट जुटाइनेछ। फाउन्डेसनसम्म सिमेन्ट ब्लक लगाइने र त्यसभन्दामाथिको भागमा बाँसको घेराबेरा गरी जस्ताको छानो लगाइनेछ।” 

संस्थाका इन्जिनियर ध्रुव कार्कीले श्रमदानबाट माटो खन्ने, केही अदक्ष कामदार लगाउने, घरमा लाग्ने ब्लक उपभोक्ता समितिले स्थानीयस्तरमा नै तयार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि आवश्यक गिट्टी, बालुवा, सिमेन्टलगायतका निर्माण सामग्री नगरपालिका र संस्थाले उपलब्ध गराउने गरिएको छ। बगाहामा १० जना दक्ष र १५ जना अदक्ष कामदार परिचालन गरी एक महिनाभित्र ती सबै घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

३५ वर्षसम्म टिक्ने भनिएका त्यस्ता घर भूकम्प, जङ्गली जनावर, हावापानीबाट सजिलै जोगिन सकिने ह्याबिट्यान्टका इन्जिनियर विकास घिमिरेले बताउनुभयो। घर निर्माणको शुभारम्भ गर्दै त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले नगर क्षेत्रका सबै जनताको सुरक्षित तवरबाट बस्न पाउने अधिकार संविधानप्रदत्त अधिकार भएकाले विपन्न परिवारलाई लक्षित गरिएको बताउनुभयो। 

उहाँले घर निर्माण जनजीविकाको सवाल भएकाले रोजगारीको अवसर र स्थानीय बाँस अधिकतम प्रयोगमा आउनेमा आफू ढुक्क रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सर्वसाधारणलाई सदाबहार घामपानी र आँधीहुरीबाट बचाइराख्न नगरपालिकाले साझेदार संस्थाको खोजी गरी यस वर्षबाट सुरक्षित आवासगृह निर्माणको काम सुरु गरेको हो।”