• ७ जेठ २०८१, सोमबार

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन

blog

मेची भन्सार कार्यालय काकरभिट्टा । फाइल तस्बिर

भद्रपुर (झापा), वैशाख २६ गते । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढुङ्गानाले चालु आव २०८०/८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसामान निर्यात भएको जानकारी दिनुभयो । 

उहाँले अघिल्लो आ.व.२०७९/८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले श्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् । 

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

 रासस