• १३ वैशाख २०८१, बिहिबार

गठबन्धनकै निर्णय अनुसार पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको हो : अध्यक्ष राउत

blog

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ।

काठमाडौं, फागुन २७ गते। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताउनुभएको छ। शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताउनुभएको हो। 

उहाँले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिनुभयो। उहाँले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गर्नुभयो। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ। निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्यो अनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडि सारेका हौँ। भोलिसम्म समय छ। मलाई पूरा विश्वास छ, हाम्रो साझा उम्मेदवार हुनुहुन्छ ममताजी उहाँकै पक्षमा निर्णय हुनेछ। अन्तिममा केही मिलेन भने मित्रवत् प्रतिस्पर्धा हुन्छ।’’

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो। उहाँले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताउनुभयो। उहाँले आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनु भयो।