• ७ वैशाख २०८१, शुक्रबार

केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताउनुभयो ।

“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भई सकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन” प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।”

प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी धाराका कम्युनिष्ट घटकहरूबिच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मेलन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।”

“संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

“समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि  पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।”

“एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरुद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्,” प्रधानमन्त्रीले भन्नुभयो, “तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो । माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले ले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताउनुभयो ।