साँचो अर्थमा राष्ट्रिय विभूति भानु  

dhanpati koiralaडा. धनपति कोइराला

 

असार २९ भन्नासाथ हरेक नेपालीको मानसपटलमा एउटा बिर्के टोपी र त्यसले सुहाएको एउटा आकर्षक सुन्दर छविचित्र उदाउँछ । किनकिन शरीर त्यसै पनि रोमाञ्चित हुन्छ । मन र मुटु त्यसै त्यसै गौरवबोधले पुलकित हुन्छ । चेतना पनि द्रवीभूत हुन्छ । अनायासै नजरहरू झुक्छन् र सम्मानभाव व्यक्त गर्छन् । भित्रभित्रै मन गुनगुनाउँन थाल्छ र भन्छ–
एक्दिन् नारद सत्य लोक् पुगिगया लोकको गरूँ हित् भनी
ब्रह्मा ताहीँ थिया प¥या चरणमा खुशी गराया पनि
क्या सोध्छौ तिमी सोध नारद भनी मर्जी भयाथ्यो जसै
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती ग¥या यो तसै
अहा ! आदिकवि भानुभक्त आचार्य जो तनहुँको चुँदी रम्घामा आजभन्दा १०४ वर्षअघि जन्मे र १९२५ मा ब्रह्मलीन भए तर उनले समाजलाई धेरै गुन लगाएर गए । त्यस्ता मनका कविका सन्दर्भमा धेरै चर्चा र परिचर्चा चल्ने क्रम अद्यापि यथावत् छ । आदिकवित्व
आदिको शाब्दिक अर्थ हो शुरु र कविको अर्थ हो स्रष्टा, शुरुमा सिर्जना गर्ने कोमल हृदय भएको व्यक्ति । यसरी हेर्दा उनीभन्दा पहिल्यै सुबानन्ददास, शक्तिबल्लभ अर्याल, उदायानन्द अर्याल आदि धेरै कविहरूले काव्यसाधना गरिसकेका थिए । यस सन्दर्भमा उनी कसरी आदिकवि बने भन्ने प्रश्न अझै अन्तरकुन्तरबाट आउने गरेको छ । हो, शाब्दिक अर्थलाई पक्रेर हेर्दा प्रश्न निरर्थक छैन तर उनका कृति, प्रवृत्ति र प्रभावलाई हेर्दा उनलाई आदिकविबाट सम्मानित गरिएको न्यायोचित ठहर्छ । खास गरी उनका ‘वधूशिक्षा’ (१९१९), ‘प्रश्नोत्तर माला’
(१९२१ तिर), ‘भक्तमाला’ (२०२२ तिर) ‘भानुभक्तको रामायण’ (१९३९–१९५८) आदि ग्रन्थ नै यसका प्रमाण हुन् । अर्को पक्ष राष्ट्रपिता पृथ्वीनारायण शाह, उनका भाइभारदार र जनताले मिलेर विशाल नेपालको निर्माण गरे । उनले भौगोलिक तथा राजनीतिक रूपमा नेपालको एकीकरण त गरे तर तिनको मनलाई जोड्न सकिरहेका थिएनन् । मन जोड्ने काम गरे भानुभक्तले । उनले बोलेको र लेखेको भाषाको गोरेटोमा हिँडेर आज नेपाली भाषा समृद्धिको त्यो गौरव लाग्दो उचाइमा पुगेको छ, जहाँ अझै हिन्दी भाषा पुग्न सकेको देखिन्न । यस प्रभावका आधारमा पनि उनी आदिकविका आसनमा आसीन हुनपुगेका हुन् भन्दा अतिशयोक्ति हुँदैन ।
केही विवादित सन्दर्भ
वधूशिक्षा, सोतीकी श्रीमतीप्रति गरिएको टिप्पणी, त्यो जमानामा पनि घाँस बेच्ने सन्दर्भबारे आलोचना हुने गरेका छन् । सबैभन्दा पहिले हामीले कुनै कृति र व्यवहारको मूल्याङ्कन तत्कालीन युगीन सन्दर्भका सापेक्षमा गर्नु नै वाञ्छनीय हुन्छ । कतिपय हिजो हरेक कोणबाट सही ठह¥यार हामी आफैँले गरेका निर्णय समय घड्कदै जाँदा गलतजस्ता लाग्न सक्छन् । यसर्थ, इतिहासको मूल्य निरूपण गर्दा त्यो समय र परिस्थितिकै सापेक्षमा गर्नु न्यायोचित ठहर्छ । हिजोको सन्दर्भमा अतिथिका रूपमा बस्न गएका घरमा सासूबुहारीबीचको द्वन्द्व देखेका कविले ठूलालाई आदर सम्मान भाव देखाउनुपर्ने छोरीबुहारी नै आमा र सासूसँग चर्चरी बाझे भने कसरी घर चल्ला भनेर साथी तारापतिलाई प्रतिनिधि पात्र बनाई यो ‘वधूशिक्षा’ दिएका हुन् । त्यहाँ केही वाणीहरू अहिलेका उन्मुक्त र स्वतन्त्र परिवेशमा सही नठहर्न सक्छ तर आदर्शपूर्ण समाज निर्माणका लागि यी उपदेश अझै औचित्ययुक्त नै छन् । जहाँ अग्रजपुस्ताप्रति उपेक्षाभाव राखी छोरीबुहारी उन्मुक्त भई हिँडेका छन् । ती परिवार उँभोभन्दा उँधै लागेका देखिन्छन् ।
जहाँसम्म घाँसीको सन्दर्भ छ । प्रा. डा. नारायणप्रसाद खनालका अनुसार त्यस बेला ससाना भारेभुुरे राजा यत्रतत्र थिए । उनीहरूले सवारीका रूपमा हात्ती घोडाहरू पालेका थिए । तिनलाई खुवाउन घाँस चाहिन्थ्यो । जसले घाँस काटेर लगिदिन्थ्यो उसले पारिश्रमिक र इनाम पनि पाउने गर्थे । त्यही घाँस बेचेर प्राप्त द्रव्यबाट घाँसीले कुवा खनाए । पतिराम सोतीकी पत्नीको रुखो व्यवहारप्रति कविले गरेको टिप्पणी आजका दृष्टिले शोभनीय नभए पनि हिजो अतिथिलाई भगवान् मान्ने गरेको सन्दर्भमा यो त्यति अनुचित लाग्दैन ।
सबैका आस्थापुञ्ज
भानुभक्तलाई अग्रज कविहरूले उच्च सम्मानभावका साथ स्मरण गरेका छन् । मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदि साहित्यिक व्यक्तित्वले नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुषका रूपमा अथ्र्याएका छन् । समालोचकका दृष्टिमा पनि भानुभक्त आचार्य उत्कृष्ट व्यक्तित्व हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य, वरिष्ठ समालोचक वासुदेव त्रिपाठी, ठाकुरप्रसाद पराजुली, मोहनराज शर्मा, दयाराम श्रेष्ठ, तारानाथ शर्मा आदि व्यक्तित्व उनलाई श्रद्धेय स्रष्टा मान्छन् । वर्तमान पुस्ताका स्रष्टा तथा समालोचकको पनि यसमा विमति देखिन्न ।
सर्वत्र सम्मानित
आदि भानुभक्त आचार्यको शालिक मुलुकका प्रायः राजधानीका गाउँ, शहर र मोफसलका शहर बजार यत्रतत्र स्थापित छन् । उनका नाममा विद्यालय, महाविद्यालय, पुस्तकालय, पुरस्कार, प्रतिष्ठान खुलेका छन् र ती जीवन्त सूचारु छन् । भारतका नेपाली भाषी समुदाय भएका हरेक गाउँ र शहरमा उनका शालिक छन् र भव्य उत्सव गरी जयन्ती मनाइने गरिन्छ । वैदेशिक रोजगारीमा विदेशिएका नेपालीले समेत भानुलाई सम्झन्छन् र विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ उत्सव मनाउछन् । त्यहाँ सारा नेपालीलाई जोड्ने सेतु भानुभक्त जयन्ती बन्ने गरेको छ । नेपाली जनमानसलाई हृदयबाट नै जोड्ने काम हिजोदेखि आजसम्मै उनैले गर्दै आइरहेका छन् । साँचो मनले भन्दा भानु जत्तिका सम्मानित नेपाली अर्को कुनै सपूत छैनन् ।
हिमवत्खण्ड तथा अन्य काव्य महोत्सव
भानुजयन्तीलाई अर्थात् भानुलाई उच्च महŒव दिई मदन भण्डारी स्मृति प्रतिष्ठानको साहित्य विभाग अर्थात् वर्तमानमा नामाङ्कित हिमवत्खण्ड काव्य सम्मेलनले नीलगिरी काठमाडौँमा अन्तर्राष्ट्रिय महोत्सवको आयोजना गरी भानुजयन्ती महोत्सव गर्दै छ । यो काव्य महोत्सवलाई सरकारले पनि उच्च महŒव दिएको छ । स्वयं प्रधानमन्त्रीबाट त्यस कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसै अवसरमा देशभरि कार्यक्रम हुँदै छन् । भारतको दार्जिलिङ र सिक्किममा विशेष कार्यक्रम हुँदैछ । त्यहाँ हुने कार्यक्रमको रौनक नै अलग्गै हुने गर्छ । हरेक नेपाली भाषी चाहे त्यो बालक होस् वा युवा वा वृद्धवृद्धा पुरुषवर्ग हरेकले दौरा सुरुवाल र ढाकाटोपी वा कसैले भानुको बिर्के टोपी पहिरेकै हुन्छ । नारी हरेकले चौबन्दी चोलो र गुन्यु पहिरेकै हुन्छन् । नेपाली बाजागाजा, गीत, सङ्गीत र कवितामा चुर्लुम्मै डुबिरहेका भेटिन्छन् । उनीहरू प्रायःजसोका हातमा भानुको रामायण पुस्तक रहेको हुन्छ ।
त्यहाँका अड्डा अदालतदेखि भद्रभलादमीहरूले निसाफ गर्दा साक्षी र आरोपीसँग लिइने वयानका क्रममा कसम खुवाउँदासमेत भानुकै रामायण छोएर कसम खुवाउने प्रचलन छ । यसले के सिद्ध गर्छ भने भारतमा बस्ने नेपाली भाषीका मानसपटलमा आदिकवि भानुभक्तप्रति आँक्नै नसकिने खालको आदर र श्रद्धाभाव छ ।
वस्तुतः आदिकवि भानुभक्त आचार्य बहुआयामिक व्यक्तित्व हुन् । व्यङ्ग्य गर्न सक्ने खुबी पनि उनमा उत्तिकै रहेको छ । कुमारी चोक जेलमा रहँदा बस्दा परेको चोटलाई उनले ठट्यौली पाराले यसरी लेखेर दिएका थिए, त्यहाँका जेलरलाई ।
रोज्रोज् दर्शन पाउँछू चरणको ताप् छैन मनमा कछू
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।
लामखुट्टे उपिञा उडुस् इ सँगि छन् इन्कै लहरमा बसी
लामखुट्टेहरू गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी । ।
कविले बालाजु पुग्दा देखेको एउटा रोचक प्रसङ्गलाई कवितामा यसरी उतारेका छन्,
चपला अबलाहरू एक सुरमा
गुनकेसरी फूल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी । ।
त्यसबेलाका चश्माले हेर्दा यी कविताहरू असाध्यै घतलाग्दा छन् । उनले फुटकर रूपमा लेखेको रामगीता, प्रश्नोत्तरमाला जस्ता कवितामा आध्यत्मिकचेत फेला पर्छ । कतिपय समालोचक उनका कतिपय आचरण र कृतिमा प्रगतिशीलता फेला पार्छन् । कतिपय औपदेशिकता र शृङ्गारिकता पनि भेट्तछन् । नेपाली जनमनमा सदा विराजमान हुन सफल आदिकवि भानुभक्त साँचो अर्थमा नेपालका विभूति हुन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds