• १४ वैशाख २०८१, शुक्रबार

नयाँ सुन बिक्नै गाह्रो

blog

नवराज कट्टेल 

विराटनगर, फागुन २७ गते । मङ्सिरयता विवाह, व्रतबन्ध, गुन्यूचोलीजस्ता बाक्लै कार्जे परे पनि नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन्। सुनको मूल्य बढेर एक लाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्नभन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रूपान्तरण गरेर टारे। 

नेपाल सुनचाँदी व्यवसायी सङ्घ मोरङका अध्यक्ष शशिभूषण साहका अनुसार अन्य क्षेत्रमा जस्तै ज्वेलर्सको कारोबार विवाहको सिजनमा निक्कै कम भएको हो। जिल्लामा रहेका १४० साना–ठूला ज्वेलर्समा नयाँ सुन खरिद गरेर गहना बनाउने भन्दा पुराना गहना बोकेर पल्टी गर्नेहरू धेरै आएका हुन्। 

अध्यक्ष साहका अनुसार बैङ्कबाट सुन ल्याएर सबै ज्वेलर्समा वितरण गर्ने गरिएको छ। यसरी वितरण गर्दा २० देखि ४० ग्राम सुन लिनेहरू छन्। त्यो पनि दैनिक सुन पाइँदैन। सुन नपाएको चिन्ता पनि व्यवसायीलाई छैन। 

सङ्घका अध्यक्ष साहका अनुसार गत वर्ष २२ केजी नयाँ सुन खपत भएको थियो। चालू आर्थिक वर्षको फागुनसम्मको आठ महिनामा नौ केजी सुन बैङ्कबाट आएको छ। बैङ्कबाट सुन ल्याउनका लागि कर चुक्ता प्रमाणपत्र अनिवार्य हुन्छ। सबैले वैधानिक कागजातका आधारमा मात्रै सुन पाउँछन्। 

राठी गोल्ड सिल्भरका सञ्चालक जुगलकिशोर राठीका अनुसार आर्थिक मन्दी र सुनको मूल्य वृद्धि हुँदाको प्रभाव कारोबारमा देखिएको छ। पुरानो गहना बिक्री गर्नेको सङ्ख्या पनि उत्तिकै रहेको राठीको भनाइ छ। गत वर्षको तुलनामा यो वर्ष  ६० प्रतिशत व्यापार खस्किएको छ। 

कारोबार खस्कँदा त्यसको असर रोजगारीमा आश्रित कालिगडलाई समेत परेको छ। सुनका गहना बनाउने कालिगढको सङ्ख्या आठ सयभन्दा बढी रहेको छ। उनीहरू समेत बेरोजगार भएको विजय हाउसका विजय राठी बताउनुहुन्छ। राठीले भन्नुभयो, “समस्या यस्तो छ की सुनका गहना बनाउन आउनेभन्दा बिक्री गर्ने धेरै छन्, पैसा छैन खरिद गर्न पनि पाइँदैन। मन्दिको असर निक्कै परेको छ, सुन खरिद गर्ने अवस्थामा पनि छैनौँ।” 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बैङ्कबाट सुन खरिद गर्दछन्। दैनिक एउटा वा दुईवटा पसलको नाममा सिफारिस जिल्लास्थित सङ्घले गर्दछ। त्यसका आधारमा सुन ज्वेलर्ससम्म पुग्ने गरेको छ तर यो सिजनमा विराटनगरका ज्वेलर्सलाई कुनै हतारो नपरेको अध्यक्ष साहले बताउनुभयो। नयाँ सुन खरिद गर्ने नहुँदा पुरानो गहना ‘मोडिफाइ’ गराउने काम मात्रै भएको छ। नयाँ सुन खरिद गर्नेको सङ्ख्या निकै कम भएको बेला भारतीय रुपियाँ सीमा क्षेत्रमा सस्तिएको छ। कतिपयले नेपाल र भारतमा उस्तै मूल्य हुँदा अवैध रूपमा आउने गरेको हुनसक्ने अनुमानसमेत गरेका छन्।