• १४ वैशाख २०८१, शुक्रबार

दोलखा महोत्सवमा एक करोडभन्दा बढीको कारोबार

blog

दोलखाको सदरमुकाम चरीकोटमा सुरु भएको दोलखा महोत्सव । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, फागुन २६ गते ।
यही फागुन १९ गतेदेखि दोलखाको सदरमुकाम चरीकोटमा सुरु भएको दोलखा महोत्सवमा एक करोडभन्दा बढीको कारोबार भएको छ । महोत्सवमा दर्शकहरुको सहभागिता उल्लेख्य रहेको आयोजकले जनाएको छ ।

शनिबारसम्म चल्ने उक्त महोत्सवमा ४० हजारभन्दा बढीले अवलोकन गरेको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘महोत्सवको सातौँ दिनसम्म आइपुग्दा दर्शकको उपस्थितिमा कुनै कमी आएको छैन । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुले भरिपूर्ण मनोरञ्जन प्रदान गरिरहेका छन् भने १२० वटा स्टल राखिएको छ ।’’ उहाँले भन्नुभयो ।

महोत्सवमा दैनिक पाँच हजार रुपियाँ बराबरको टिकट बिक्री हुने गरेको छ । कारोबार दैनिक १५ देखि २० लाख रुपियाँ भएको अनुमान छ । नौ दिनसम्म करिब दुई करोडको कारोबार हुने देखिएको छ । आयोजकले चार करोडभन्दा बढीको कारोबार हुने लक्ष्य राखेको थियो ।

महोत्सवमा झाँकी प्रदर्शन, भीमेश्वर नगरपालिका–५ का महिलद्वारा पञ्चेबाजा प्रस्तुत, खैँजडी भजनको समेत प्रस्तुति छ । आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले आइटी बसमार्फत आइटीको जानकारी दिँदै साइबर चेतना दिएको छ भने रोबोटिक एसोसियसनले रोबोट प्रदर्शन गरेको छ ।

महोत्सवमा स्ट्रिट फुड फेस्टिवल, माउन्टेन प्लाइटमार्फत दोलखाका पर्यटकीय स्थलको अवलोकन भएको थियाे भने माथिल्लो तामाकोसी जलविद्युत आयोजनको सेयर अभौतिकरण शिविरलगायतका कार्यक्रम पनि भएका छन् ।