• १४ वैशाख २०८१, शुक्रबार

सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

blog

पर्वतको जलजला गाउँपालिकामा रहेका भूमिहिन सुकुम्वासीलाई निस्सा वितरण गरिदै । तस्बिर : गणेश पौडेल

गणेश पौडेल

पर्वत, फागुन ३ गते । पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । 

लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले निस्सा वितरण गरेको हो । जलजला गाउँपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम सकिएको र छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भूमि आयोग पर्वतका अध्यक्ष उदय सुबेदीले जानकारी दिनुभयो ।

‘पहिलो चरणमा जलजला गाउँपालिकामा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौं’ उहाँले भन्नुभयो– ‘पुर्जा वितरणका लागि केन्द्रबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ 

जलजला गाउँपालिकाबाट अव्यवस्थित बसोबासिको ८२, भूमिहीन दलितको २४ र भूमिहीन सुकुम्वासीको ८ वटा निवेदन जिल्ला समितिमा प्राप्त भएको बताइएको छ । अन्य पालिकाहरुबाट निवेदन आउन ढिलाइ भएको सुवेदीले बताउनुभयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्य, आयोगका अध्यक्ष उदय सुवेदी, सदस्य मन बहादुर क्षेत्री, जिल्ला मालपोत अधिकृत मुकुन्द लामिछाने, नापी अधिकृत निशा अधिकारी लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो ।