• १४ वैशाख २०८१, शुक्रबार

मूल्य घटाएपछि बिक्न थाल्यो चामल

blog

ताप्लेजुङस्थित खाद्य कम्पनीको गोदाममा रहेको बासमती चामल। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २२ गते। ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ। कम्पनीले बिक्री गर्दै आएको बासमती चालम सोचेजस्तो बिक्री नभइरहेको अवस्थामा पछिल्लो समय मूल्य घटाएपछि धमाधम बिक्री हुन थालेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार प्रतिकिलोग्राम नौ रुपियाँ घटाएपछि बासमती चामल राम्ररी बिक्री हुन थालेको छ। मूल्य समायोजन अर्थात् मूल्य घटाएपछि छोटो समयमै राम्ररी बासमती चालम बिक्री भएको शाखा प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो। विगतमा वर्षभरमा बिक्री भएको परिमाण बराबर नै छोटो समयमा चामल बिक्री भएको लोवाले बताउनुभयो।

उहाँका अनुसार गत पुस २१ गतेदेखि ताप्लेजुङमा छुट मूल्यमा बासमती चालम बिक्री गर्न थालिएको हो। बासमती चामल प्रतिकिलोग्राम ११४ रुपियाँ रहेकोमा हाल नौ रुपियाँ घटाई १०५ रुपियाँमा बिक्री गर्दै आएको शाखा प्रमुख लोवाले जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षको साउनदेखि माघ २० गते शुक्रबारसम्ममा दुई हजार ६७० किलोग्राम (२६ क्विन्टल ७० किलोग्राम) बासमती चामल बिक्री भएको बताउनुभयो।

 गत आर्थिक वर्ष भरमा दुई हजार ७९० किलोग्राम मात्र बासमती चालम बिक्री भएको थियो। कम्पनीसँग मौज्दात रहेको पुरानो चामल सल्टाउन र गोदाम खाली गर्ने उद्देश्यले सेवाग्राहीलाई प्रतिकेजी नौ रुपियाँ छुट सुविधा दिएर चामल बिक्री गर्न थालेको शाखा प्रमुख लोवाले बताउनुभयो। मूल्यमा छुट सुविधा दिएपछि बासमति चामल राम्ररी बिक्री हुन थालेको र अब शाखासँगै करिब ५५ क्विन्टल मात्र मौज्दात रहेको उहाँले जानकारी दिनुभयो। 

जिल्लामा बासमतीबाहेक अन्य चामल जिरा मसिना र सोना मन्सुली भने राम्ररी बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी गोपाल राईका अनुसार चालू आबको शुक्रबार सम्ममा सोना मन्सुली चामल ६५ हजार २८० किलोग्राम र जिरा मसिना ४९ हजार ९९५ किलोग्राम बिक्री भएको छ। 

गत आर्थिक वर्षमा सोना मन्सुली ७१ हजार १४० किलोग्राम, जिरा मसिना ६८ हजार ५६१ र बासमति चामल दुई हजार ७९० किलोग्राम बिक्री भएको सूचना अधिकारी राईले जानकारी दिनुभयो। जिल्लामा वार्षिक एकलाख ५० हजार किलोग्राम अर्थात् एक हजार ५०० क्विन्टल बढी खाद्य कम्पनीको चामल बिक्री हुने गरेको छ। मूल्य छुट हुनुअघि बासमती चामल प्रतिकिलोग्राम ११४ रुपियाँ, जिरा मसिाना ७० र सोना मन्सुलीको प्रतिकेजी ४७ रुपियाँ मूल्य कायम रहेको छ। 

खाद्यको चामल सबैभन्दा बढी सदरमुकाम फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाका सेवाग्राहीले खरिद गर्ने गरेका छन्। त्यसपछि मेरिङ्देन गाउँपालिकाका उपभोक्ताले खरिद गर्ने गरेका शाखाले जनाएको छ। शाखाका अनुसार यस जिल्लाका लागि खाद्य कम्पनीको चामलको कोटा भने एकलाख किलोग्राम (एकहजार क्विन्टल) मात्र रहेको छ। कोटा सीमित भए पनि जिल्लामा माग भएअनुसार चामल आयात गरी बिक्री गर्ने गरिएको शाखा प्रमुख लोवाले जानकारी दिनुभयो।

यता बाहिर बजारमा भने बासमती चामलको मूल्य प्रतिकिलोग्राम १६० रुपियाँदेखि १९० रुपियाँसम्म रहेको छ। जिरा मसिना चामलको मूल्य ९० देखि १०० रुपियाँ र सोना मन्सुलीको प्रतिकिलोग्राम ५० रुपियाँ मूल्य रहेको छ। खाद्य कम्पनीले बिक्री गर्ने चामल र बाहिर बजारमा बिक्री हुने चालमको गुणस्तर नमिल्ने ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो। चामलको गुणस्तर नमिल्ने भएकै कारण मूल्यमा फरक रहेको थापाको भनाइ छ।