• १४ वैशाख २०८१, शुक्रबार

मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा.चन्द्रकान्त राउत

blog

संसद भवनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ७ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष राउतले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताउनुभयो । जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उहाँको भनाइ छ ।

‘‘हामीसँग सङ्ख्यात्मक रूपमा राम्रो सङ्ख्या छ । हामी निर्णायक भूमिकामा रहेका छौँ । मधेश प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेश प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ ।,’’ अध्यक्ष राउतले भन्नुभयो, ‘‘हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ । कुनैपनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हामी हुनेछौँ ।’’

अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै  शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले मधेश प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताउनुभयो ।  कुनैपनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने जानकारी दिनुभयो ।

अध्यक्ष राउतले आफ्नो दलको सीमित सङ्ख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउनुभयो ।