२३ जना महिला निर्वाचित


सीता शर्मा

काठमाडौँ,  मङ्सिर २८ गते ।  प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बुधबारसम्म प्राप्त नतिजाअनुसार २३ जना महिला निर्वाचित हुनुभएको छ ।  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी हुनुभएको हो ।  
वाम गठबन्धनका तर्फबाट नेकपा
(माओवादी केन्द्र)बाट पम्फा भुसाल, कमला रोका र बीना मगर तथा नेकपा (एमाले)बाट पवित्रा निरौला खरेल, पद्माकुमारी अर्याल र दुर्गा पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।  
सबैभन्दा पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेत्री बीना मगर कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  पतिशोकमा पर्नुभएकी मगरले ३८ हजार ४६७ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो ।  मगरका पति प्रकाश दाहालको यसै महिनाको सुरुमा दुःखद निधन भएको थियो ।  मगरले नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २१९ मतान्तरले पराजित गर्नुभयो ।  मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी हुनुहुन्छ ।  
स्याङ्जा २ बाट प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार पद्मा अर्याल ३५ हजार १४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँले नेपाली काँग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्जसमेत रहेकी अर्यालले काँग्रेसका नेता श्रेष्ठलाई तीन हजार ७०५ मतान्तरले पराजित गर्नुभएको हो ।  
वाम गठबन्धबाट उम्मेदवार पम्फा भुसाल ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  माओवादी केन्द्रका प्रवक्ता भुसाल २४ हजार ३७ मत ल्याएर निर्वाचित हुनुभएको हो ।  उहाँले नेपाली काँग्रेसका मदन अमात्यलाई एक हजार ७०७ मतान्तरले पराजित गर्नुभयो ।  
यस्तै वाम गठबन्धनबाट माओवादीका उम्मेदवार कमला रोका रुकुम पूर्वबाट विजयी हुनुभएको छ ।  रोकाले नेपाली काँग्रेसका उम्मेदवार हरिशङ्कर घर्तीलाई छ हजार २८ मत अन्तरले जित्नुभयो ।  उहाँले कुल १० हजार ४३४ मत ल्याउनुभयो ।
यस्तै प्यूठानमा वाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५१४ मत ल्याएर विजयी हुनुभएको छ ।  पौडेलले नेपाली काँग्रेसका प्रा.डा. गोविन्दराज पोखरेललाई १६ हजार २२८ मतान्तरले पराजित गर्नुभयो ।  यस्तै झापा २ बाट नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँले नेपाली काँग्रेसका उद्धव थापालाई १३ हजार ७६७ मतान्तरले पराजित गर्नुभयो ।  
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बन्नुभएका सात जना महिलामध्ये कोही पनि विजयी हुन सक्नुभएन ।  प्रदेशसभा सदस्यमा १३ महिला विजयी हुनुभयो ।  काठमाडौँ क्षेत्र नम्बर ८ ‘ख’का प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य पाँच हजार १६९ मत ल्याई विजयी हुनुभयो ।  प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका दाबेदार शाक्य प्रतिस्पर्धी देवरत्न डङ्गोललाई एक हजार पाँच सय मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।  
यस्तै म्याग्दीको प्रदेशसभा ‘ख’बाट नेकपा (एमाले)बाट उम्मेदवार बनेकी नरदेवी पुनमगर १० हजार ८६८ मत ल्याएर विजयी हुनुभएको छ ।  वाम गठबन्धनकी उम्मेदवार पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतले पराजित गर्नुभयो ।  
बझाङ प्रदेशसभा ‘ख’बाट माओवादी केन्द्रका उम्मेदवार देवकी मल्ल थापा १६ हजार ७४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  वाम गठबन्धनबाट उम्मेदवार थापाले नेपाली काँग्रेसका उम्मेदवार नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतले पछि पार्नुभयो ।  
यस्तै मकवानपुर १ ‘क’ प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तान २७ हजार १३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।  मोक्तान लोकतान्त्रिक गठबन्धनका यतीराज सापकोटालाई १२ हजार ९९६ मतान्तरले  जित्न सफल हुनुभयो ।
काठमाडौंँ  १० ‘ख’बाट एमालेका रमा आलेमगर नौ हजार ९०३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  आलेमगरले काँग्रेसका धर्मानन्द श्रेष्ठसँग दुई हजार ८८६ मतान्तरले जित हासिल गर्नुभयो ।  
यसैगरी उदयपुर २ ‘ख’ प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार कला घले १३ हजार ४५९ मत ल्याएर विजयी हुनुभएको छ ।  घलेले निकटतम प्रतिस्पर्धी काँग्रेसका रामकुमार खत्रीलाई चार हजार ४८३ मतान्तरमा जित्नुभयो ।  
त्यसैगरी नुुवाकोटको प्रदेशसभा १ ‘क’मा राधिका तामाङ १८ हजार १३७  मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रबहादुर थिङलाई चार हजार ७६९ मतान्तरमा जित्नुभएको हो ।  
ललितपुर १ ‘क’को प्रदेशसभा सदस्यमा लालकुमारी पुन १२ हजार ८४१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  उहाँले काँग्रेसका ऋषिराम घिमिरेलाई दुई हजार ७३६ मतान्तरले जित्नुभयो ।  
तनहुँ २ ‘क’बाट प्रदेशसभा सदस्यमा आशा कोइराला झिनो मतान्तरले विजयी हुनुभएको छ ।  उहाँले १६ हजार ६४६ मत प्राप्त गर्नुभयो र पाँच मतको अन्तरले नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेललाई पराजित गर्नुभयो ।  
यसैगरी बारा ३ ‘क’बाट माओवादी केन्द्रका ज्वाला साह प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  वाम गठबन्धनका उम्मेदवार साह ११ हजार ७७१ मत प्राप्त गरेर निर्वाचित हुनुभयो ।  उहाँले काँग्रेसका रामनन्दनप्रसाद यादवलाई एक हजार ६२४ मतान्तरले पराजित गर्नुभयो ।  
महोत्तरी १ ‘क’ बाट प्रदेशसभामा नेकपा (एमाले)बाट वाम गठबन्धनका उम्मेदवार शारदा थापा १० हजार २८२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  उहाँले नेपाली काँग्रेसका प्रह्लादकुमार क्षेत्रीलाई एक हजार २५१ मतान्तरले पराजित गर्नुभयो ।  
सर्लाही १ ‘ख’बाट वाम गठबन्धनका बेची लुङ्गेली १५ हजार ३६३ मत ल्याई विजयी हुनुभएको छ ।  लुङ्गेली नेपाली काँग्रेसका शेष साह दुल्लाहलाई छ हजार १६६ मतले पछि पार्दै निर्वाचित हुनुभयो ।   त्यसैगरी बाँके १ ‘ख’मा वाम गठबन्धनबाट नेकपा (एमाले)की नेता आरती पौडेल विजयी हुनुभएको छ ।  उहाँ १९ हजार ३८९ मत ल्याएर विजयी हुनुभएको हो ।  
यस्तै प्रदेशसभा सदस्यतर्फ महोत्तरी ‘क’बाट वाम गठबन्धनका शारदादेवी थापा १० हजार १८२ मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँले नेपाली काँग्रेसका प्रह्लादकुमार क्षेत्रीलाई एक हजार १५१ मतले पराजित गर्नुभएको हो ।   महोत्तरी २ ‘ख’ मा राष्ट्रिय जनता पार्टी (राजपा)का सुरिताकुमारी साहले १५ हजार ४४० मत ल्याएर जित आफ्नो पक्षमा पार्नुभयो ।  उहाँ नेपाली काँग्रेसका राजकरणप्रसाद साह सुढीलाई आठ हजार ६५० मतान्तरले पछि पार्दै जित आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।  यसैगरी महोत्तरी ३ ‘ख’मा राजपाकै रानी तिवारी सात हजार ४३० मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँ स्वतन्त्रका उम्मेदवार सुरेश साहलाई एक हजार ८३२ मतान्तरले पराजित गरी विजयी हुनुभएको छ ।  त्यसैगरी  इलाम १ ‘क’मा वाम गठबन्धनबाट एमालेका लिखुलिनङ्वा लिम्बूले १८ हजार ६८६ मत ल्याएर जित आफ्नो पक्षमा पार्नुभयो ।  उहाँ नेपाली काँग्रेसका देवेन्द्र राईलाई नौ हजार ३५९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds