• १४ वैशाख २०८१, शुक्रबार

चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका

blog

कक्षा कोठामा फोममाथि जुटको कार्पेट बिच्छ्याइँदै । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, पुस ६ गते । 
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।

गौर नगरपालिका–८ पुरेनवामा रहेको श्री आधारभूत विद्यालयका शिशु र एक कक्षाका बालबालिका लागि नगरपालिकाले फोममाथि जुट कार्पेट बिच्छ्याउने व्यवस्था मिलाएपछि बालबालिका चिसो मुक्त कोठामा पढ्न पाउने भएका हुन् ।

झण्डै एक दशकदेखि बालकक्षा र कक्षा  एकका बालबालिका चिसो भुईँमा नै अध्ययन गर्दै आएका थिए । यस विषयमा गोरखापत्र रौतहट समाचारदाताले नगरप्रमुख शम्भु साहसँग जिज्ञासा राख्दा उहाँले तत्कालै कक्षा कोठा व्यवस्थापनका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत कार्य सम्पादन गराउनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरले नगरप्रमुखको निर्देशनबमोजिम विद्यालयको कक्षा कोठा व्यवस्थापन गरिएको बताउनुभयो । विद्यालयमा अन्य आधारभूत संरचना पनि लथालिङ्गरहेको बताउनुहुँदै उहाँले सो व्यवस्थापन पनि यथाशीघ्र गरिने जानकारी दिनुभयो । 

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यापन गराइने उक्त विद्यालयमा ५१० जना बालबालिका अध्ययन गर्छन् । विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले चिसो भुईँमा अध्ययन गर्दै आएका आधारभूत तहका बालबालिकाका लागि कक्षा कोठा व्यवस्थापनले सिकाई उपलब्धि प्रभावकारी हुने बताउनुभयो । उहाँले विद्यालयमा अझै पनि डेक्सबेन्च, झ्याल ढोकाका पल्ला, स्वच्छ खानेपानी, र व्यवस्थित शौचालय र कक्षा ८ का विद्यार्थीलाई कम्प्युटर शिक्षाको व्यवहारिक ज्ञान दिन कम्प्युटरको आवश्यकता भएको जानकारी दिनुभयो ।

चिसो भुईँबाट मुक्त हुँदा बालबालिका खुसी भएका छन् । उनीहरू भन्छन् “अब पढ्न सजिलो भयो ।”