• १४ वैशाख २०८१, शुक्रबार

सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा

blog

भैरहवास्थित भीम अस्पताल ।

श्यामशङ्कर पाण्डे

लुम्बिनी, मङ्सिर २५ गते । जिल्ला अस्पतालका रूपमा रहेको भैरहवास्थित भीम अस्पतालको प्रशासनिक व्यवस्थापन र सेवा सुविधा गुणस्तरीय र प्रभावकारी बन्दै गएको प्रदेश सरकारको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा गठित न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले गरेको अध्ययनका आधारमा अस्पतालको प्रशासनिक व्यवस्थापन र बिरामीसँग सम्बन्धित सेवा सुविधा गुणस्तरीय रहेको पाइएको हो ।

गतवर्षको तुलनामा यस वर्ष अस्पतालले आफ्नो कार्य सम्पादन र बिरामीलाई उपलब्ध गराउने सेवामा धेरै सुधार ल्याएको समितिले उल्लेख गरेको छ । न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले गरेको पछिल्लो मूल्याङ्कन अनुसार ९ सय ३९ वटा सूचाङ्कको आधारमा मूल्याङ्कन गर्दा गत वर्ष ५६ प्रतिशत अङ्क प्राप्त गरेको भीम अस्पतालले यस वर्ष ८८ प्रतिशत पुर्याएको छ । मूल्याङ्कन समितिका फोकलपर्सन कौशल भण्डारीका अनुसार अहिले भीम अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको छ ।

"हालसम्म गरिएको लुम्बिनी प्रदेसको सेकेण्डरी ए लेभलको अस्पतालको मूल्याङ्कनमा अस्पतालको आन्तरिक व्यवस्थापन र बिरामीलाई उपलब्ध गराउने गुणस्तरीय सेवामा भीम अस्पताल दोस्रो बनेको छ", भण्डारीले भन्नुुभयोे, "नेपालमै सेकेण्डरी ए लेभलको अस्पतालमध्ये भीम अस्पतालले पाँचौं स्थान लिएको छ ।" 

लुम्बिनी प्रदेशका सेकेण्डरी 'ए' लेभलका १३ वटा अस्पतालमध्ये दुई वटाको मूल्याङ्कन हुन बाँकी छ । मूल्याङ्कन प्रत्येक ६–६ महिनामा गर्ने गरिन्छ । 

अहेव र इन्टनर्शिप गर्न आउने चिकित्सकको भरमा चल्ने गरेको भीम अस्पतालमा अहिले भने २६ जना चिकित्सक छन् । जसमध्ये मेडिकल सुपरिटेन्डेन्टसहित एक दर्जन चिकित्सकले विशेषज्ञको सेवा दिएका छन् । अपाङ्ग र अशक्तका लागि लिफ्टसहितको भौतिक सुविधा र अत्याधुनिक उपकरण पनि उपलब्ध छन् ।

"अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएका छौं", अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले भन्नुुभयो, "विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै लैजाने तयारीमा छौं । विभिन्न समस्या र अभावले गुज्रिँदै आएको यो अस्पतालले अब मुहार फेर्दै जान थालेको छ ।" 

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद गिरीले भीम अस्पतालको व्यवस्थापन र बिरामीलाई उपलब्ध गराइने सेवा सुविधा सोचेभन्दा राम्रो पाइएको बताउनुभयो ।