• १४ वैशाख २०८१, शुक्रबार

दशकपछि जाग्यो मौलिक संस्कृति

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक १३ गते । यसपालि तिहारमा मौलिक संस्कृति झल्कने गीत नाचसहितका देउसीभैलो देखिएका छन् । विगत एक दशकभन्दा यसपालिको तिहारमा देउसीभैलोमा वनगारी टप्पा, सोरठी, पैँसेरी जस्ता नाच र देउसीभैलो गाउँमा हेर्न पाइयो ।  दार्मा गाउँपालिका–२ का लीलाधर उपाध्यायले युवाले पनि परम्परादेखि चल्दै आएको मौलिक गीत र नाचसहित भैलो खेलेको बताउनुभयो । 

दार्मा गाउँपालिका–१ का नरबहादुर नेपालीले स्थानीय सोरठी, वनगारी नाच र गीतसहितको संस्कृति प्रस्तुति झल्कने गरी भैलो खेलिएको बताउनुभयो । उहाँका अनुसार सबैसँग भेटघाट पनि हुने र रमाइलो हुने भएकाले पाँच दिन भैलो खेलियो । मौलिक संस्कृतिका विषयमा जिल्लाभर नै लोपोन्मुख भएका नाच गीतसहितका देउसीभैलो यसपालि देखिएका हुन् । स्थानीय सरकारले पनि समय–समयमा आयोजना गर्ने मौलिक लोक सांस्कृतिक महोत्सव, प्रतियोगिताले पनि यो पटकको तिहारमा धेरै ठाउँमा मौलिक संस्कृतिसहितका तिहार मनाइएको हो ।

वनगाड कुपिण्डे नगरपालिका–४ का मोमत रोकाले परम्परागत गीत नाचमा महत्वबारे युवामा जागरण देखिएको बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकमा भएको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न ढिला भए मौलिक संस्कृति हराउँदै जान सक्छ ।

साहित्यकार तथा सल्यानको संस्कृतिका जानकार डा. पूर्ण भण्डारी पञ्कजले मादल, खैँजडी, मुरलीसहित मौलिक वेशभूषासहितका देउसीभैलो देखिनु खुसीको विषय भएको बताउनुभयो । उहाँका अनुसार सल्यानलगायतका क्षेत्रमा चाडपर्वसँगै विभिन्न मौलिक संस्कृति, मेलापर्व भए पनि पछिल्लो समय हराउँदै जान थालेकाले स्थानीय सरकारले संरक्षण र पुस्तान्तरणका कार्यक्रम बढाउनुपर्ने देखिन्छ ।

सल्यानमा रहेका वनगाडी टप्पा, सोरठी, पैँसेरी, सरेङ्गे,  ठाडी भाकालगायतका गीत नाच रहेका छन् । गाउँगाउँमा अझै पनि मौलिक लोक संस्कृतिबारे जानकार व्यक्ति रहेकाले स्थानीय तहले संरक्षणका लागि पहल थाल्नुपर्ने वरिष्ठ लोकगायक तथा वाद्यवादक खड्कबहादुर बुढाले बताउनुभयो ।