• २६ वैशाख २०८१, बुधबार

निर्वाचनको तयारी तीव्र

blog

गाईघाट समाचारदाता

गाईघाट, कात्तिक ७ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुर तीव्र रूपमा आन्तरिक तयारीमा जुटेको छ । दुई लाख २८ हजार ८८६ मतदाता रहेको उदयपुरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुईवटा र प्रदेश सभा निर्वाचन क्षेत्र चारवटा छन् । 

निर्वाचनका लागि क्षेत्र नं. १ मा ५१ वटा मतदानस्थलमा १५३ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं. २ मा ५० वटा मतदान स्थलमा १११ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनलाई स्वच्छ वातावरणमा शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक पर्ने जनशक्तिलगायत सबै प्रकारको तयारी तीव्र गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

प्रजिअ गौतमका अनुसार उहाँकै संयोजकत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले निर्वाचनमा खटिने कर्मचारीहरूको सूची तयार पारिसकेको र यस पटकको निर्वाचनमा जिल्लास्थित कार्यालय, स्थानीय तह र सामुदायिक विद्यालयका शिक्षकसमेत गरी करिब दुई हजार एक सय कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।

यसबाहेक निर्वाचनका बेला केन्द्रीय सुरक्षा नीतिअनुसार नेपाली सेना, सशस्त्र प्रहरीबल र जनपद प्रहरीलगायतको सुरक्षाकर्मीहरू र थप ११ सय म्यादी प्रहरीसमेत परिचालन गरिने प्रजिअ गौतमले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले पनि पुराना मतपेटिकाहरू धोइपखाली सफा बनाएको र अपुग हुने मतपेटिका लगायत निर्वाचनसम्बन्धी अन्य बन्दोबस्तीका सामग्रीहरूको व्यवस्थापन गरिरहेको सो कार्यालयले जनाएको छ । 

जसमा ३० प्रकारका अनुसूची फारामसहित ५८ प्रकारका सामग्रीहरू केन्द्रबाट आउने र १५ प्रकारका सामग्रीहरूको बन्दोबस्त जिल्ला तथा मतदान केन्द्रमै गरिने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेम कोइरालाले बताउनुभयो । केन्द्रबाट आउने सामग्रीहरू धमाधम आउने क्रममा रहेको र यहाँ व्यवस्थापन गर्नुपर्ने सामग्रीहरूको पनि व्यवस्थापन भइरहेको कोइरालाले बताउनुभयो ।